काठमाडौं । फोहर संकलन र ढुवानीका लागि काम गर्ने निजी कम्पनीका सदस्यहरुले स्वनियम पालनासम्बन्धी ‘कार्यसञ्चालन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी निर्देशिका–२०७६’ सार्वजनिक गरेका छन् ।
काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन तथा एकरुपता कायम गराउनका लागि फोहार सम्बन्धी मापदण्ड तयार पारेको हो ।
फोहरमैला व्यवस्थापन संघले आयोजना गरेको ‘कार्य एकरूपता, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी मापदण्ड सार्वजनिकीकरण र अभिमुखीकरण कार्यक्रम’मा काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले यस व्यवस्थासम्बन्धी पुस्तिका सार्वजनिक गरेका हुन् ।
उक्त पुस्तकमा कामदारको पोशाक, सुरक्षा सामग्री, फोहरमैला सङ्कलन गर्ने समयतालिका, कार्यपद्धति, सेवाशुल्क, सेवाग्राहीसँग गरिने व्यवहारलगायत व्यवस्था राखिएका छन् ।
त्यस्तै कर्मचारीको आचरण तथा अन्य मापदण्ड, ल्यान्डफिलसाइटसम्म फोहरमैला ढुवानी तथा व्यवस्थापन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डको परिपालनाजस्ता विषय समेटिएका छन् ।
निर्देशिकामा कामदारको पोशाक, सुरक्षा सामाग्री, फोहरमैला संकलन गर्ने समय तालिका, कार्यपद्धति, सेवा शुल्क, सेवाग्राहीसँग गरिने व्यवहार लगायत व्यवस्था राखिएका छन् ।
साथै संघले सरसफाइ नमुना क्षेत्र बनाउने विषयलाई समेत यसमा समाबेस गरेको छ । सरसफाइ नमूना क्षेत्र बनाइ त्यसलाई फोहरमुक्त क्षेत्र घोषणा गरिने उल्लेख छ ।
व्यवस्थापनका लागि हरेक सङ्घसंस्थाले स्रोतमा फोहर छुट्याउने, छुट्टिएको फोहरमध्ये जैविक फोहरलाई हप्ताको दुईपटक र अजैविक फोहरलाई एकपटक उठाउने, सङ्कलित फोहरलाई छोपेर मात्र प्रशोधन केन्द्र वा ल्यान्डफिलसाइटमा पुर्याउने, समुदायलाई फोहर व्यवस्थापनमा जागरुक गराउन, माइकिङ तथा तालिम गोष्ठी सञ्चालन गर्नुपर्ने, सरसफाइ नमूना क्षेत्र बनाउने, फोहरमुक्त क्षेत्र घोषणा गर्नेलगायतका काम परिच्छेदमा व्यवस्था गरिएको छ ।
फोहर सङ्कलन गर्ने गरेको क्षेत्रमा पर्ने सडक, उद्यानजस्ता सार्वजनिकस्थलमा हप्ताको एकपटक अनिवार्य झाडु लगाउनुपर्ने, फोहरको परिमाण र ढुवानी गर्नुपर्ने दूरीका आधारमा स्थानीय तहसँगको समन्वयमा शुल्क निर्धारण गर्नुपर्ने, सफाइमा काम गर्नेको एउटै प्रकारको पोशाक हुनुपर्ने, सुरक्षा उपकरण प्रयोग गर्नुपर्ने, सवारीको बीमा गर्नुपर्ने, सवारी चालक अनुमतिपत्र भएका चालकले मात्र सवारी चलाउनुपर्नेजस्ता व्यवस्था पनि निर्देशिकामा समेटिएका छन् ।
हिउँदको समयमा बिहान ६ बजेदेखि र बर्खाको समयमा बिहान ५ बजेदेखि सफाइ शुरु गरेर मुख्य सडकमा बिहान ८ बजेभित्र र भित्री सडकमा दिउँसो २ बजेभित्र फोहर सङ्कलनको काम सक्ने व्यवस्था गरिएको छ ।
उता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने बिहान साढे ८ बजेभित्र फोहर सङ्कलनसम्बन्धी सबै काम सक्नुपर्छ भनेको छ । यसमा निजी क्षेत्रमा आबद्ध भएर फोहरको काम गर्ने कर्मचारीको तलबसुविधा, औषधोउपचार, बीमा सुविधा, सेवाअवधि, सुरक्षा पोशाकजस्ता विषय व्यवस्था गरिएको छ ।
अनुसूचीमा फोहर उत्पादकहरुबाट लिइने शुल्कसम्बन्धी व्यवस्था गरिएको छ । हाल उपत्यकामा ७० वटा फोहर व्यवस्थापन गर्ने संघसंस्था रहेका छन् । ती मध्ये ४५ वटा संस्थाले काठमाडौंमा सेवा दिँदै आएका छन् ।
महानगरका अनुसार अब सटरमा पसल नभएको १ घरधुरीमा बसोबार गर्ने २ परिवारसम्मले मासिक ४०० रुपैयाँ तिर्नुपर्छ । त्यस्तै १ घरधुरी २ परिवारभन्दा बढी परिवार बसबास गरेकाले प्रतिपरिवार थप १५० रुपैयाँका दरले मासिक शुल्क तिर्नु पर्दछ भने कोठा हिसाबले बसेकाले प्रतिकोठा (किचनसहित) १०० रुपैयाँ तिर्नु पर्दछ ।
त्यस्तै १०० स्क्वायर फिटसम्ममा सञ्चालन भएका कस्मेटिक पसल, पत्रिका पसल, कपडा, फेन्सी पसल लगायतले मासिक न्यूनतम ३ सय रुपैयाँ तिर्नु पर्नेछ ।
महानगरले निर्धारण गरेको नयाँ शुल्क अनुसार सबैभन्दा धेरै फोहोर व्यवस्थापन शुल्क १०० बेडभन्दा माथिका अस्पतालले तिर्नुपर्छ । १०० बेडभन्दा माथिका अस्पतालले मासिक न्यूनतम ५० हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्म तिर्नुपर्नेछ भने १०० बेडभन्दा तलका अस्पतालको मासिक न्यूनतम २५ हजारदेखि अधिकतम ५० हजारसम्म तिर्नुपर्दछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।