add

कफी उत्पादनमा व्यावसायिक घरानालाई आकर्षित गर्नु आवश्यक छः अध्यक्ष अधिकारी






ActPro Nepal

|

३ जेठ, २०८०

|
665

ओमनाथ अधिकारी, अध्यक्ष, नेपाल कफी व्यवसायी महासंघ

ओमनाथ अधिकारी हाल नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष हुन् ।  ललितपुुुुरका स्थानीय बासिन्दा अधिकारी ललितपुर कफी व्यवसायी संघको सचिव हुँदै महासंघ प्रवेश गरेका हुन् । महासंघमा २ कार्यकाल कोषाध्यक्ष हुँदै उनले विगत ४ बर्ष देखि अध्यक्षको रुपमा महासंघको नेतृत्व गरिरहेका छन् ।

वि.सं २०५४ सम्म शिक्षण पेशामा उनी संलग्न रहेका थिए । यद्यपि ललितपुर जिल्लामा कफी राेपण कार्य भने वि.सं २०३८ बाट नै शुरूवात भएकाे हाे ।   २०५४ सम्म आइपुग्दा कफी उत्पादनमा अत्यन्तै वृद्धि हुन थालेसँगै उनी पूर्ण रूपमा कफी व्यवसायमा नै संलग्न हुन पुगे । हाल ललितपुरमा  स्थानीय स्तरमा  उत्पादन हुने कफीकाे संकलन एवं पहिलो आधारभूत प्रशोधन स्थानीय सहकारी मार्फत हुने साथै संकलित कफी जिल्लास्तरमा ल्याई जिल्ला कफी व्यवसायी संघले थप प्रशोधन गरेर निर्यातयोग्य बनाइने अध्यक्ष अधिकारी बताउँछन् । कफी क्षेत्रमा ठूला व्यावसायिक घरानाको संलग्नता आवश्यक रहेको बताउने र यस क्षेत्रको प्रवद्धनको लागि राज्यको सहयोग आवश्यक रहने बताउने अधिकारीसँग कमल पन्थीले गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

अध्यक्षज्यू, कफी व्यवसायका मुख्य समस्याहरु के–के हुन् ?

कफी व्यवसायमा विभिन्न किसिमका समस्याहरु रहँदै आएका छन् । यसमा नीतिगत कठिनाई देखि रोगव्याधि, जलवायु परिवर्तनको असर, घट्दो उत्पादन, प्रविधि र बजारीकरण सम्मका समस्याहरु छन् । खासगरी उत्पादनको क्रममा लिफ रष्ट र सेतो गँवारो मुख्य रोगहरु हुन् । यी रोगहरु कफी उत्पादनको लागि शत्रुको रुपमा रहने गर्छन् । साथै महासंघ मातहत कफी व्यवसायीलाई प्रोत्साहित गर्नुपर्ने तथा तालिमहरु सञ्चालन गर्नुपर्नेमा समेत पछिल्ला बर्षहरुमा कोरोना सङ्कट समेत थप बाधक बनेको कारण त्यसो गर्न सकिएन ।

नेपालको वन उपयोग सम्बन्धी ऐनमा केही प्रतिबन्धात्मक व्यवस्थाहरु गरिएका छन् । यसलाई संशोधन नगरी वनमा कफी उत्पादन गर्न सकिँदैन । नेपालमा जमीन माथि हदबन्दी लगाइएको छ । यसरी नै लिज्ड ऐन कार्यान्वयनमा आउन सकेको छैन । यस्ता विविध कारणहरु जिम्मेवार छन् ।

कफीको बजारीकरण कस्तो छ ?

नेपालमा कफीको बजारीकरण राम्रो छ । पछिल्लो तथ्याङ्क अनुसार करिब २१ सय टन बराबरको कफी आन्तरिक बजारमा बार्षिक रुपमा खपत हुने स्थिति बनेको छ । यो निकै राम्रो पक्ष हो । जसमध्ये नेपालमा उत्पादन हुने कफीको हिस्सा केवल ३ सय ५५ टन मात्रै छ । नेपालमा भारत लगायत विभिन्न देशहरुबाट आन्तरिक खपतको लागि कफी आयात भई हाम्रो माग पुर्ति हुँदै आएको छ । साथै नेपालबाट बार्षिक रुपमा करिब १ सय टन कफी निर्यात हुने गरेको छ । यसले नेपालमा कफीको उत्पादन र निर्यात भन्दा आयात बढी रहेको देखाउँछ । यो भने दुखद पक्ष हो ।

नेपालमा कफी पिउने प्रचलन पछिल्ला बर्षहरुमा बढ्दै गएको हो त ?

अवश्य पनि, नेपालमा पछिल्ला बर्षहरुमा कफी प्रति मानिसहरुको चाहना बढ्दो छ । नेपालमा प्रयाप्त कफी उत्पादन गर्न नसकिएको कारण नेपाली बजारको आवश्यकता परिपुर्तिको लागि आयातित कफीमा निर्भर रहनुपर्ने स्थिति छ ।

अहिले नेपालमा कफी खुवाउने क्याफेहरु निकै बढी मात्रामा खुलेका छन् । मानिसहरुको कफी पिउने प्रचलन बढेको छ । तर तापक्रममा भएको वृद्धिको कारण कम उचाइमा हुँदै आएको उत्पादन घटेको छ । जसले गर्दा उत्पादन बढ्नुको सट्टा घट्दै गइरहेको छ ।

साना कफी उत्पाादकहरुले कफी व्यवसायलाई कसरी लिएका छन् ?

साना कृषकहरुले साधारणतया छोटो समयमा नै प्रतिफल लिन सकिने व्यवसायमा लगानी गर्न इच्छुक देखिन्छन् । यद्यपि कफीबाट प्रतिफल लिनको लागि कम्तीमा ३ बर्ष लाग्ने गर्छ । त्यस अवधि सम्म धैर्य गर्न सक्ने स्थिति साना किसानको लागि नहुन सक्छ । मकै, गहुँ, कोदो लगायतका निर्वाहमुखी बालिहरु उत्पादन गर्ने कृषकलाई व्यावसायिक बनाउन त्यति सहज छैन ।

कफी व्यवसायलाई प्रवर्द्धनको लागि राज्यको भूमिका कस्तो हुनुपर्छ ?

कफी व्यवसाय प्रवर्द्धनको लागि राज्य पक्षको भूमिका पनि महत्वपूर्ण रहन्छ । राज्यले कृषिजन्य उत्पादन भइरहेको क्षेत्रमा भन्दा पनि बाँझो र जङ्गली क्षेत्रमा कफी उत्पादन गर्न सकेको खण्डमा नेपालमा कफी क्षेत्रबाट राम्रो लाभ लिन सकिने अवस्था रहन्छ । यसको लागि सामुदायिक वनलाई उपयोगमा ल्याउने प्रयाश महत्वपूर्ण हुन सक्छ । कफी छहारी क्षेत्रमा राम्रो सँग फस्टाउन सक्छ । जङ्गलमा कफी लगाउँदा नियमित बालीमा समेत कमी आउँदैन ।

कफीको थप प्रवर्द्धनको लागि अन्य कस्ता पहलहरु आवश्यक पर्लान् ?

कफीमा विमा समेत आवश्यक बन्न गएको छ । यसको अलावा कफी क्षेत्रमा लगानी गर्न ठूला व्यावसायिक घराना समेत संलग्न हुने व्यवस्था गर्नु आवश्यक छ । अहिले नेपालमा १ सय रोपनी भन्दा बढी क्षेत्रमा कफी उत्पादन गरी व्यावसायिक रुपमा कफी उत्पादन गर्ने १० भन्दा बढी व्यवसायी छन् । यस्ता व्यावसायिक कृषकलाई सहुलियत दरमा ऋण आवश्यक छ । कफीमा तत्काल प्रतिफल लिन नसकिने भएकोले ३ बर्ष सम्म कुनै किस्ता र ब्याज तिर्नु नपर्ने गरी नीतिगत व्यवस्था गर्नु जरुरी हुन जान्छ ।

वनमा कफी उत्पादनको पहल अहिले सम्म किन भएको छैन होला त ?

नेपालको वन उपयोग सम्बन्धी ऐनमा केही प्रतिबन्धात्मक व्यवस्थाहरु गरिएका छन् । यसलाई संशोधन नगरी वनमा कफी उत्पादन गर्न सकिँदैन । नेपालमा जमीन माथि हदबन्दी लगाइएको छ । यसरी नै लिज्ड ऐन कार्यान्वयनमा आउन सकेको छैन । यस्ता विविध कारणहरु जिम्मेवार छन् ।

नेपालमा कफी उत्पादनको भावी सम्भावना कस्तो छ ?

नेपालमा सबै क्षेत्र गरी करिब १२ लाख हेक्टर क्षेत्रफल कफीको लागि उपयुक्त मानिन्छ । कफी उत्पादनको लागि ८ सय देखि १६ सय मिटर उचाईमा कफी उत्पादन उपयुक्त देखिन्छ । हाल नेपालमा करिब २६ सय हेक्टर क्षेत्रफलमा कफी उत्पादन भएको देखिन्छ । यद्यपि यसलाई ठ्याक्कै यति नै हो भनेर यकिन रुपमा बताउन भने मिल्दैन । तथ्याङ्क संकलनमा विभिन्न समस्या सृजना भएका हुन सक्छन् ।

साना कृषकहरुले साधारणतया छोटो समयमा नै प्रतिफल लिन सकिने व्यवसायमा लगानी गर्न इच्छुक देखिन्छन् । यद्यपि कफीबाट प्रतिफल लिनको लागि कम्तीमा ३ बर्ष लाग्ने गर्छ । त्यस अवधि सम्म धैर्य गर्न सक्ने स्थिति साना किसानको लागि नहुन सक्छ ।

अन्त्यमा यहाँले के भन्न चाहनुहुन्छ ?

अहिले नेपालमा सबै गरी करिब ३२ हजार किसानहरु कफी उत्पादनमा संलग्न छन् । साथै १ सय ५० भन्दा बढी कफी सम्बन्धी सहकारी छन् । नेपालमा कफी प्रशोधन सम्बन्धी काम गर्ने उद्योग (२५–३० ओटा) र ठूलो सङ्ख्यामा खुलिरहेका क्याफेहरु मार्फत कफीले रोजगारी र राजस्व सृजनामा ठूलो योगदान दिएको छ । यद्यपि आगामी दिनमा विदेशमा रहँदा यस क्षेत्रमा काम गरेका युवालाई नेपालमा फर्किएपछि पनि यसै क्षेत्रमा संलग्न गराउनुपर्ने आवश्यकता समेत देखिएको छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.