Right side from logo

परम्परागत सीपमूलक काममा राम्रो अवसर छः व्यवसायी शाक्य






2021 Sep 13

रविन्द्र शाक्य मुर्तिकला क्षेत्रमा चर्चित नाम हो । उनको परिवार लामो समय देखि मुर्तिकला क्षेत्रमा संलग्न रहँदै आएको छ । अहिले उनको परिवारका ३ जना दाजुभाई नै यसै मुर्ति कला क्षेत्रमा अलग–अलग रुपमा संलग्न रहँदै आएका छन् ।

पुर्ख्याैंली पेशाको रुपमा हस्तकला क्षेत्रमा संलग्न रहँदै आएको यो परिवारको अहिलेको रविन्द्र मुर्ति बनाउने काम आफ्ना दाई र बुबाबाट सिकेका हुन् । सामान्य पढाई गरेका रविन्द्र आफ्नो सीप, दृढ विश्वास र लगनशिलताकै कारण सफल व्यवसायी बन्न सकेका हुन् ।

हाल रविन्द्रले ललितपुरको इमाडोलमा उद्योग स्थापना गरी मुर्ति निर्माण सम्बन्धी कामहरु गरिरहेका छन् । आफूले निर्माण गरेका मुर्तिहरु मुख्य धार्मिक क्षेत्रहरु काठमाडौं, लुम्बनी हुँदै सोलुखुम्बुको चुचुरो सम्म स्थापित छन् । रविन्द्रले तामाको पाताबाट मुर्ति बनाउने काम गर्छन् । आफू सानो छँदा आफ्नो परिवारमा बुबा र दाइबाट तामापाता, तोरण, गजुर बनाउन सिकेका रविन्द्र अहिले त्यही सीपलाई परिष्कृत गर्दै अहिलेको व्यावसायिक सफलता हासिल गर्न सकेका हुन् । आफू सानो छँदा मुर्तिकला क्षेत्रमा निकै कम मानिसहरु मात्र संलग्न थिए । पछि त्यस काममा अन्य व्यक्तिहरुको समेत संलग्नता बढ्दै गएपछि रविन्द्रको परिवार तामाको पाता उठाएर मुर्ति बनाउने काममा संलग्न भयो । जुन काममा रविन्द्र अहिले पनि संलग्न छन् ।

पछिल्ला दिनहरुमा तामाको पाता उठाएर मुर्ति बनाउने काममा पनि थुप्रै मानिसहरु आकर्षित भएका छन् । यद्यपि अहिले पनि यस क्षेत्रमा काष्ठकला, प्रस्तरकला जस्तो क्षमतावान् जनशक्तिको उपलब्धता भने अत्यन्तै न्यून छ । क्षमतावान् मान्छेहरुको अभाव रहेको भन्दै रविन्द्र यो पेशा दुर्लभ पेशाको रुपमा लिन्छन् ।


समस्या

तामाको पाताबाट मुर्ति बनाउने कार्यको लागि औपचारिक तालिम प्रदायक संस्थाहरुबाट तालिम लिन पाइने व्यवस्था अहिले सम्म हुन सकेको छैन । जसले गर्दा यस क्षेत्रमा संलग्न हुने व्यक्तिहरु आफैंले काम सिकेर व्यवसायमा संलग्न हुनुपर्ने बाध्यता छ । यस सम्बन्धमा सरोकारवाला पक्षहरुको ध्यान जानुपर्ने आवश्यकता छ । मुर्तिकला नेपाली मौलिकता बोकेको कला हो । यसको मौलिक पहिचान बचाइराख्ने कार्य समेत चुनौतीपूर्ण बन्दै गएको छ । विगतमा नेवार समुदाय मात्र संलग्न रहेको यस व्यवसायमा अहिले अन्य समुदायको समेत प्रवेश बढेको छ । कतिपय नेपालीहरुले भारतका धर्मशाला एवं चीनको ल्हासाबाट समेत यस सम्बन्धी सीप हासिल गरेर नेपालमा आई काम गरिरहेका छन् ।

नेपालमा यस किसिमको मुर्तिकलामा सम्बन्धी कामको लागि अहिले सम्म आधुनिक मेसिनहरु विकास गर्न सकिएको छैन । आफ्नो लागि आवश्यक पर्ने साधारण मेसिन एवं उपकरणहरु आफैंले विकास गरेर काम गर्नुपर्ने आवश्यकता छ । जसले गर्दा नेपाली उत्पादनहरुको मौलिक पहिचान हुने भएपनि तुलनात्मक रुपमा लागत भने महँगो पर्ने गर्छ । यद्यपि यस्ता मुर्तिहरुको आगामी दिनमा बजार सम्भावना भने निकै राम्रो देखिन्छ ।

ढुवानीमा समस्या

ठूलो साइजमा आफ्नो कारखानामा बनाएका मुर्तिहरु निर्माणस्थलमा पुर्याउन सहज नहुन सक्छ । यसकारण ठूलो साइजका मुर्तिहरु बनाउनुपरे साइटमा नै गएर मुर्ति निर्माण गर्नुपर्ने हुन्छ । यद्यपि २० देखि २५ फिट साइज सम्मका मुर्तिहरु भने कारखानामा नै बनाएर सम्बन्धित ठाउँमा लगेर फिटिङ गर्न सकिन्छ । रविन्द्रले ठाउँ र आवश्यकता बमोजिम विभिन्न देवीदेवताका मुर्तिहरु कँ आएका छन् । जसमध्ये बुद्ध, भैरव, गुरु पद्मसम्भव, महाकाल, स्वयम्भू, बज्रयोगिनी, मन्जुश्री प्रमुख छन् । एउटा १६ फिटको मुर्ति निर्माण गर्नको लागि करिब १३ बर्ष लागेको रविन्द्रले बताए ।

मुर्ति निर्माण कार्य सीपमा आधारित काम भएपनि यसमा अप्राविधिक जनशक्ति समेत आवश्यक पर्छन् । काम सम्बन्धी लगाव हुने हो भने मुर्तिकला सम्बन्धी जटिल सीपहरु हासिल गर्न सकिन्छ । यद्यपि सीप सजिलै हासिल गर्न सकिने अवस्था भने हुँदैन ।

अहिलेका कार्य योजनाहरु

रविन्द्रले मुस्ताङमा स्थापना गर्नको लागि अहिले १९ फिटको मुर्ति निर्माण गरिरहेका छन् । जुन कार्य अन्तिम चरणमा पुगेको छ । यसैगरी उनले १३ फिटको मुर्ति चापागाउँको लागि निर्माण गरिरहेका छन् । यसैगरी विभिन्न ठाउँमा विभिन्न साइजका मुर्तिहरु उनले निर्माण गरिरहेका छन् । साना मुर्तिहरु भने स्थानीय व्यापारीहरुबाट बिक्री गर्छन् । बाह्य जिल्लामा ढुवानी गर्नुपर्ने मुर्तिहरुको लागि रविन्द्रले कार्गो कम्पनीहरुलाई जिम्मेवारी दिने गरेका छन् । कुन मुर्तिको मूल्य कति पर्ने भन्ने कुरा उक्त मुर्ति निर्माणको लागि आवश्यक रहने परिश्रममा निर्भर रहन्छ । सामान्यतया बुद्धको मुर्तिको तुलनामा तारा एवं गुरु पद्मसम्भव अलि महँगो पर्ने गर्छन् ।

तामाको गुणस्तर

पछिल्लो समय बजारमा उपलब्ध तामा विगत भन्दा कमसल गुणस्तरको छ । पूर्ण तामा नभई मिश्रित तामा बजारमा उपलब्ध हुने गरेकोले यस किसिमको तामाबाट मुर्ति निर्माणको लागि केही असहजता हुने गर्छ । विगतमा नेपाली बजारमा आउने तामा मलेसिया र सिङ्गापुरबाट आउने गरेको थियो । जुन राम्रो गुणस्तरको थियो । अहिले भने नेपाली बजारमा आउने तामा जर्मनीबाट आउने गरेको छ ।

आगामी सम्भावना

विगतमा मुर्तिकला क्षेत्र शोख र प्रतिष्ठाको क्षेत्रको रुपमा रहँदै आएकोमा अहिले यो क्षेत्र व्यावसायिक क्षेत्रको रुपमा विस्तार भइरहेको छ । मुर्ति निर्माण कार्य झण्झटिलो भएपनि कामको श्रमको तुलनामा यस क्षेत्रबाट राम्रो लाभ हासिल गर्न सकिने अवस्था छ । लकडाउनको कारण यस व्यवसायको कारोवार केही घटेको भएपनि आगामी दिनमा भने यस क्षेत्रको सम्भावना निकै राम्र्रो रहेको पाउन सकिन्छ ।

गुणस्तरीयमा जोड दिउँ

रविन्द्र आफूले बनाएका मुर्तिहरु विभिन्न मठमन्दिर एवं धार्मिक र सांस्कृतिक क्षेत्रहरुमा सदाको लागि जीवन्त रहने भएकोले मुर्ति निर्माण गर्दा पूर्ण विश्वास सहित गुणस्तरीयतामा जोड दिने गर्छन् । आफ्नो कला र सीपहरुमा नै आफ्नो पहिचान झल्कने भएको र राम्रो कामबाट मिल्ने तारिफले अन्य कामलाई छिटो छरितो र गुणस्तरीय रुपमा सम्पन्न गर्न प्रोत्साहन मिल्ने गरेको रविन्द्र बताउँछन् ।


पुर्ख्याैंली रुपमा आफ्नो परिवारमा अस्तित्वमा रहँदै आएको यस क्षेत्रमा नयाँ पुस्ता संलग्न हुने कार्य भने रविन्द्रले चुनौतीपूर्ण देख्छन् । आफूहरु औपचारिक अध्ययन बिना सिधै मुर्ति निर्माण कार्यमा संलग्न भएको तर आफ्ना छोराहरु भने औपचारिक शिक्षा अपरिहार्य भएको कारण शिक्षित युवाहरुले परम्परागत सीपमूलक कामलाई अँगाल्ने हुन् कि होइनन् भन्नेमा रविन्द्र चिन्तित छन् ।


प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2021. ALL RIGHTS RESERVED.