शारदा रिजाल एक प्र्रतिष्ठित महिला उद्यमी हुन् । १ कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघमा कार्यसमिति सदस्यको भूमिका समेत उनले निर्वाह गरिसकेकी छिन् । नेपाल महिला उद्यमी महासंघकी पूर्वअध्यक्ष समेत रहेकी रिजाल बाल्यकाल देखि नै कुनै उद्यमशिल गतिविधिमा संलग्न हुन चाहन्थिन् । यद्यपि त्यस बेला आफ्नो बुबाले तिमी सानै छौ, विवाह नहुँदै उद्यमशिल क्रियाकलापमा काममा नलाग भनेपछि बाध्य भएर शिक्षण पेशामा संलग्न भइन् ।
लामो समय शिक्षण पेशामा संलग्न रहँदा पनि शिक्षण पेशाबाट रिजाल आफूलाई सन्तुष्ट बनाउन सकिनन् । आफ्नो काममा आफूलाई नै चित्त बुझाउन नसकेकी रिजाल विवाहपछि आफैंले मिलन गार्मेन्ट नामक कम्पनी शुरु गरेर व्यावसायिक क्षेत्रमा होमिइन् । १० बर्ष शिक्षण पेशामा संलग्न रहने क्रममा सञ्चय कोषमा संलग्न भएको १० हजार रकमबाट उनले वि.सं २०४६ मा आफ्नो व्यवसाय शुरु गरेकी हुन् ।
रिजालको व्यावसायिक यात्रा ह्याट बनाउने कामबाट शुरु भएको हो । त्यसबेला उनले विभिन्न किसिमका ह्याटहरु बनाउने गर्थिन् । बजार राम्रो हुँदै गयो । साथै रिजालले आफ्नो व्यवसायलाई विविधिकरण समेत गर्दै लगिन् । अहिले रिजालको नेतृत्वमा सञ्चालन हुँदै आएको मिलन नेपाल नामक कम्पनीले फेल्टजन्य सामानहरु उत्पादन गर्दै आएको छ । यसैगरी युनाइटेड नेपाल फेल्ट इण्डष्ट्रिजमा पनि उनी संलग्न छिन् । व्यावसायिक क्षेत्रमा रिजालले राम्रो प्रगति गरेकी छिन् । परिवारको साथसहयोग बिना शुरु भएको आफ्नो यात्रा अहिलेको अवस्थामा आउन सक्नुलाई रिजाल आफ्नो ठूलो उपलब्धिको रुपमा लिन्छिन् । साथै लगनशिल तवरले निरन्तर कार्य क्षेत्रमा लागिरहँदाको परिणाम समेत ठान्छिन् उनी ।
शुरुका चुनौती
हरेक उद्यमीले व्यावसायिक क्षेत्रमा लाग्दाका शुरुका दिनहरुमा विभिन्न किसिमका समस्याहरु सामना गर्नैपर्ने हुन्छ । व्यावसायिक क्षेत्रमा संलग्न हुन चाहेर पनि निजी क्षेत्र जोखिमयुक्त भएको कारण व्यावसायिक क्षेत्रमा प्रवेश नै गर्न नचाहने युवाहरु ठूलो सङ्ख्यामा छन् । निजी क्षेत्र जोखिमयुक्त क्षेत्र पनि हो । निजी क्षेत्रमा संलग्न हुन चाहनेले केही जोखिम लिन त मानसिक रुपमा तयार हुनैपर्छ । यद्यपि केही जोखिम लिएर नै काम गर्न चाहने व्यक्तिहरुको लागि पनि शुरुमा कुन व्यवसाय शुरु गर्ने, कसरी काम शुरु गर्ने र त्यसका वैधानिक एवं व्यावसायिक प्रक्रियाहरु के छन् भन्ने कुरा कठिन हुने गर्छ । साथै काम शुरु गर्नको लागि आर्थिक अभाव र प्राविधिक ज्ञान पनि समस्याको रुपमा रहन सक्छन् । जुन रिजालले पनि अनुभव गरिन् ।
आर्थिक स्रोतको व्यवस्थापन
शारदा रिजाल व्यवसायमा संलग्न हुने समयमा नेपालमा भर्खर प्रजातन्त्रको लहर चलेको थियो । नेपालमा प्रजातन्त्र प्राप्तिको लागि आन्दोलन भइरहेको त्यस समय सम्म नेपालमा आर्थिक क्रियाकलापको लागि बैंक तथा वित्तीय संस्थाको पहुँच निकै सीमित थियो । यसकारण आफ्नो व्यवसाय अघी बढाउने क्रममा त्यसको लागि आवश्यक पर्ने सबै रकम आफ्नो पारिवारिक स्रोतबाट नै जुटाउनुपर्ने हुन्थ्यो । यद्यपि आफूले जोखिम लिने आँट गरेकै कारण रिजाल व्यावसायिक यात्रामा अघी बढ्न सकेकी हुन् । लकडाउनको असर आफ्नो व्यवसायमा परेर हाल कामदार घटाउनु परेपनि लकडाउन हुनु पहिले सम्म उनले नियमित रुपमा २ सय र माग बढ्दा ३ सय जना सम्मलाई रोजगारी उपलब्ध गराउँदै आएकी थिइन् । अहिले भने बजारमा माग घटेको कारण अधिकांश कर्मचारी कटौती गर्न आफू बाध्य हुनुपरेको उनी बताउँछिन् ।
महिलाहरुमा सफलताको दर उच्च रहन्छ
व्यावसायिक क्षेत्रलाई माथि उठाउनको लागि महिलाहरुको योगदान महत्वपूर्ण रहँदै आएको छ । महिला र पुरुष दुवै सन्तुलित रुपमा उद्यमशिल काममा अघी बढ्न सकेको खण्डमा उद्यमशिलता फस्टाउन सक्ने राम्रो सम्भावना रहन्छ । पुरुषहरुको तुलनामा महिलामा धैर्यता बढी हुँदो रहेछ । यो कुरा रिजालले आफ्ना पुरुष मित्रहरुसँगको व्यावसायिक साझेदारीको क्रममा अनुभव गरेकी छिन् । यद्यपि महिलाहरुबाट शुरु भएको व्यवसायले भने लामो समय सम्म स्थायित्व पाउने गर्छ । कुनै दिन आफ्नो व्यवसायमा सहकार्यमा काम गरिरहेका पुरुष पार्टनर सहकार्यको व्यवसायमा सन्तुष्ट हुन नसकी अलग्गिएर अर्को प्राइभेट लिमिटेड कम्पनी सञ्चालन गर्नुभयो । कम्पनीको लागि बैंकबाट कर्जा लिएर काम गर्नुभयो । तर पनि उहाँले राम्रो प्रगति गर्न सक्नुभएन । तर शारदा रिजालले पहिले देखि नै आफूले सञ्चालन गर्दै व्यवसायबाट नै सन् २००३ मा उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल भइन् । उक्त अवार्ड नेपालमा उत्पादित टोपीहरु वल्र्ड कपको लागि पठाएको कारण उनले प्राप्त गरेकी थिइन् ।
व्यावसायिक सफलताको आधार
जुनसुकै व्यवसायमा पनि सफलता प्राप्तिको लागि निरन्तरता र सकारात्मक सोच महत्वपूर्ण रहन्छन् । छोटो समयको लागि कुनै समस्या आउँदा आत्तिने व्यक्तिले दीर्घकालिन लाभ हासिल गर्न सक्दैन ।
उद्यमशिलता फस्टाउन राज्यको जिम्मेवारी
अहिलेको अवस्थामा नेपालमा उद्यमशिलता फस्टाउन नसक्नुमा नेपालको विकासको लागि सबै तह र तप्काका व्यक्तिहरुलाई उद्यमशिलता प्रति जागरुक बनाउन नसक्नु एक कारण हो रिजाललाई लाग्छ । राज्यले आवश्यकता अनुसार कर संकलन त गर्दै आएको छ तर त्यसको सही परिचालन गर्न भने सकेको छैन । यसको अलावा उद्यमशिल सोचका युवाहरुलाई व्यावसायिक क्षेत्रमा आकर्षित गर्न सक्ने नीतिगत व्यवस्था समेत नेपाल सरकारबाट हुन सकेको छैन । निजी क्षेत्रले धेरै हदसम्म आफ्नो दायित्व पूरा गर्ने प्रयाश गरेपनि राज्य पक्षले भने आफ्नो दायित्व पूरा गर्न सकेको छैन । पछिल्लो समय राज्यले कोभिड–१९ बाट पीडित व्यवसायीहरुलाई आफ्नो कोषमा ठूलो परिमाणमा राजस्व तथा सामाजिक सुरक्षा बापत संकलन भएको रकम परिचालन नगर्नुले पनि राज्य कति जिम्मेवार रहेछ भन्ने पुष्टि हुन्छ ।
व्यावसायिक सफलतामा शिक्षाको महत्व
औद्योगिक वातावरण निर्माण र व्यावसायिक विस्तारको लागि व्यावसायिक शिक्षाको महत्वपूर्ण भूमिका रहने गर्छ । यद्यपि अहिलेको शैक्षिक कार्यक्रममा यस कुरालाई विचार गर्न सकेको पाईंदैन । विगतमा विद्यालय तहमा समावेश गरिएको पूर्वव्यावसायिक र नैतिक शिक्षा पनि शैक्षिक कार्यक्रमबाट हटाइएको छ । जसले गर्दा यसको असर व्यावसायिक क्षेत्रहरुमा पनि देखिन थालेको छ । शैक्षिक वेरोजगार जनशक्तिको उत्पादनलाई यसैको परिणाम स्वरुप लिन सकिन्छ । शैद्धान्तिक शिक्षामा उच्च तह हासिल गरेर पनि स्वदेशमा टिक्न नसकी वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आखिर किन आयो ? अबका दिनमा यस सम्बन्धमा विचार गर्दै हाम्रो शैक्षिक कार्यक्रममा पुनर्विचार गर्नु जरुरी देखिन्छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।