Right side from logo

विदेशी मुद्रा आर्जन गर्ने माध्यम बन्न सक्छ परामर्श क्षेत्रः इन्जिनियर मनोहर श्रेष्ठ




2021 Apr 17

हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड बुटबल पावर कम्पनीको स्थापना सँगसँगै परामर्श सेवाको लागि शुरु भएको हो । शुरुका दिनमा बुटबल पावर कम्पनीकै शाखाको रुपमा नै रहेको यस कम्पनीले अहिले स्वतन्त्र कम्पनीको रुपमा काम गर्दै आएको छ । बुटबल पावर कम्पनीको ८० प्रतिशत र पिडा नामक संस्थाको २० प्रतिशत शेयर लगानी रहेको यस कम्पनीको कारोबार पछिल्ला बर्षहरुमा २० करोड भन्दा माथि छ ।

नेपालमा हाइड्राे कन्सल्टबाट अघी बढाइएका आयोजनाहरु निम्न छन्ः

नेपालका महत्वपूर्ण जलविद्युत आयोजनाहरुमा परामर्श सेवा प्रदान गर्ने काममा यो कम्पनी संलग्न छ । यस कम्पनीले ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना, १४ मेगावाटको घारखोला, ३० मेगावाटको न्यादी हाइड्रोपावर, ८६ मेगावाटको सोलु–दुधकोशी जलविद्युत आयोजना लगायतका थुप्रै आयोजनाहरु अघी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । नेपालका महत्वपूर्ण आयोजनाको अलावा केन्या, पाकिस्तान, युगाण्डा, लगायतका देशहरुमा पनि यस कम्पनीले आफ्नो परामर्श सेवा प्रदान गरिरहेको छ ।

यस कम्पनीमा नेपालका सबैगरी करिब डेढ सय कर्मचारीहरु निरन्तर काममा संलग्न छन् । यस कम्पनीले आफ्नो क्षमता विस्तार गर्दै आगामी दिनमा ५ सय भन्दा बढी जनशक्ति आवद्ध रहेको एक व्यवस्थित र प्रतिष्ठित इन्जिनियरिङ सेवाप्रदायक कम्पनीको रुपमा यस कम्पनीलाई अन्तर्राष्ट्रिय रुपमा नै परिचित हुने गरी स्थापना गर्न आफ्नो टीमको प्र्रयाश रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ई.मनोहर श्रेष्ठ बताउनुहुन्छ ।

प्रस्तुत छ मनोहर श्रेष्ठसँग रही तयार गरिएको यो सामाग्रीः

नेपाली परामर्शदाता कम्पनीहरु क्षमतावान् बनिसकेका छन् र पछिल्ला दिनहरुमा नेपालका परामर्शदाता कम्पनीहरुले बाह्य बजारमा समेत आफ्नो परामर्श सेवा प्रदान गरिरहेका छन् । हाल स्वदेशमा निर्माण हुने जलविद्युत आयोजनाहरुमा आवश्यक पर्ने सबैजसो कामहरु स्वदेशी परामर्शदाताबाट नै सम्भव हुने अवस्था छ । अहिले १ सय मेगावाट सम्मका जलविद्युत आयोजनाहरु स्वदेशी कम्पनीले नै निर्माण गर्न सक्ने अवस्था छ । जियोटेक्निकल, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल लगायत केही क्षेत्रहरुमा प्रयाप्त जनशक्ति उपलब्ध हुन नसके बाह्य मुलुकबाट समेत परामर्शदाताहरु ल्याएर काम सम्पन्न गर्न सकिने अवस्था रहेको छ ।

नेपाली परामर्शदाता कम्पनीहरुले बाह्य मुलुकमा समेत आफ्नो परामर्श सेवा प्रदर्शन गर्नुले नेपालमा इन्जिनियरिङ परामर्श क्षेत्रको दायरा फराकिलो र गुणस्तरीय एवं प्रभावकारी हुँदै गएको बुझ्न सकिन्छ । यसलाई हेर्दा नेपालमा इन्जिनियरिङ क्षेत्रको भावी सम्भावना निकै नै राम्रो देखिन्छ ।

परामर्श क्षेत्र वैदेशिक मुद्रा आर्जनको नयाँ माध्यम बन्दै

पछिल्ला बर्षहरुमा नेपालको इन्जिनियरिङ परामर्श क्षेत्र बाह्य मुलुकबाट रकम भित्र्याउने नयाँ माध्यम बन्दै गएको छ । यसरी नेपालका परामर्शदाता कम्पनीहरु बाह्य मुलुकमा गइ त्यहाँको लगानी भित्र्याउने प्रयाशलाई राज्यले सकारात्मक रुपमा लिनुपर्छ । विदेशमा सेवा विस्तारको लागि जाने कम्पनीले नेपालबाट जाँदा शुरुमा केही पुँजी पनि साथमा लैजानुपर्ने हुन्छ । नेपालबाट बाहिर जाने कम्पनीहरु राम्रो सम्भावना देखेर नयाँ काम सृजनाको उद्देश्यले जाने हुन् । छोटो अवधिको लागि केही पुँजी बाहिरिए जस्तो देखिएपनि उक्त लगानी दीर्घकालिन रुपमा भने निकै नै प्रभावकारी हुने अवस्था सृजना हुन सक्छ ।

नेपाल सरकारको नीति बमोजिम स्वदेशी लगानी बाह्य बजारमा लैजान पाईंदैन । राज्यको उद्देश्य अनुत्पादक रुपमा बाह्य बजारमा पुँजी पलायन नहोस्, यहीँ रोजगारी र लगानी प्रवद्र्धन गर्न सकियोस् भन्ने हो, जुन राम्रो नीति हो । तैपनि कतिपय अवस्थामा कारोबारको उद्देश्यलाई विचार गर्दै सानो रकम वैदेशिक भूमिमा लगानी गरी उच्च प्रतिफल प्राप्त हुने अवस्था देखिएमा त्यस कार्यलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता समेत रहन्छ । यसलाई सहजीकरण गर्न राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ ।


मनोहर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड

नयाँ प्रविधिमा जोड दिउँ

पछिल्ला दिनहरुमा नेपालमा पनि परामर्श सेवामा नयाँ प्रविधिहरुको प्रयोग बढ्दो छ । केही नयाँ प्रविधिमा आधारित सफ्टवेयरहरु नेपालमा समेत निर्माणको अभ्यास शुरु भएको छ भने बाह्य बजारमा विकास भएका नयाँ सफ्टवेयर उपयोग गर्ने प्रचलन नेपालमा पनि बढेको छ । यस्ता प्रविधिको प्रयोगबाट हाम्रा आयोजनाको लागत घटाउन निकै नै सहयोग पुगेको छ ।

आधुनिक प्रविधिको महत्व

नवविकसित प्रविधि र मेसिनहरुको प्रयोग गरेर हामीले आयोजनाहरु निर्माण ग¥यौं भने हाम्रो काम गुणस्तरीय हुनुको अलावा निर्धारित समय भन्दा पहिले नै सम्पन्न गर्न सकिन्छ । यस तथ्यलाई टनेल वोरिङ मेसिनको प्रयोगबाट भेरी बबई डाइभर्सन आयोजना निर्धारित समय भन्दा पहिले नै सम्पन्न हुनुले पनि पुष्टि गरेको छ ।

अबको आवश्यकता

हामीले फास्ट ट्रयाकमा विकासलाई गति दिनुपर्ने जरुरी छ । नयाँ प्रविधिको प्रयोगबाट मात्र हामीले चाहेबमोजिम विकास अवस्थालाई गतिशिल बनाउन सकिन्छ । हामीले हाम्रो यात्रालाई गतिशिल बनाउनको लागि हाम्रो आवश्यकतालाई पहिचान गरी सोहीबमोजिम प्रक्रियागत रुपमा अघी बढ्नु जरुरी रहन्छ । राज्य र निजी क्षेत्र बीच सहकार्यमा हाम्रा गतिविधिहरु अघी बढाउनसके हामीले राम्रो लाभ प्राप्त गर्न सक्छौं ।

नेपालीहरु क्षमतावान् छौं

हामी नेपाली सक्षम र क्षमतावान् छौं । हामी आफैंले रोबोर्टहरु निर्माण गरेका छौं । यस्ता रोबोर्टहरु बाह्य बजारमा बिक्री समेत गर्दै आएका छौं । नेपालीहरु बौद्धिक र क्षमतावान् नभएको कारण मुलुकले विकासको गति लिन नसकेको होइन । बरु क्षमतावान् नेपालीहरुको क्षमतालाई पहिचान गर्न सक्ने नेतृत्व र सही नीति कार्यान्वयनको अभावमा हामीले हाम्रो अवस्था माथि उठाउन नसकेका हौं । यसकारण हाम्रो नेतृत्वले क्षमतावान् व्यक्तिको प्रतिभा प्रस्फुटन हुने माहोल सृजना गर्नुपर्छ ।

जलविद्युतः वातावरणमैत्री उर्जा उच्च लागत

नेपालको जलविद्युत भारत र चीनमा उत्पादन हुने थर्मल इनर्जीको तुलनामा उच्च लागतयुक्त छ । नेपाल जस्तो देशमा विद्युतीय आवश्यकता परिपुर्तिको लागि जलविद्युत नै सबैभन्दा राम्रो सम्भावनायुक्त क्षेत्र रहेपनि सदैव नेपालको लागि जलविद्युत नै निर्विकल्प माध्यम बन्न सक्छ भन्ने अपेक्षा गर्न सकिँदैन । विश्व परिवेशलाई विचार गर्दा नेपालको जलविद्युत वातावरणमैत्री छ भनेर गर्व गर्न सकिने अवस्था छ । तर उच्च लागतको कारण प्रतिष्पर्धी भने छैन । विश्वव्यापी रुपमा कार्वनको उत्सृजनले पार्ने असरबाट बच्नको लागि हामीलाई जलविद्युत नै राम्रो विकल्प भएपनि हामीले मात्र कार्वन कम उत्पादन गर्दैमा हामी सुरक्षित हुन सक्छौं भन्ने अवस्था समेत रहँदैन । यसकारण हामीले न्यून लागत र वातावरणमैत्री दुवै पक्षलाई विचार गर्दै ऊर्जा उत्पादनका अन्य विकल्पहरुमा सोच्नुपर्ने आवश्यकता छ ।

उच्च लागत हुनुको कारण

जलविद्युत आयोजना निर्माण गर्नुपर्दा ३० औं बर्षका तथ्याङ्क संकलन गर्न सकिने अवस्था रहँदैन । हाइड्रोलोजी र जियोलोजिकल स्थितिबारे थोरै तथ्याङ्कबाट दीर्घकालिन प्रभाव अनुमान गर्दा समस्या सृजना हुन सक्छ । यसले गर्दा पनि हाम्रो लागत बढ्न सक्छ । दीर्घकालिन रुपमा हेर्दा जलविद्युत लाभदायक क्षेत्र नै भएपनि छोटो अवधिमा भने यसबाट प्रतिफल लिन समस्या सृजना हुन सक्छ ।

अन्त्यमा,

नेपाल सम्भावना नै सम्भावनायुक्त मुलुक हो । यहाँका सम्भावनाहरुलाई अब यथार्थमा बदल्न जरुरी छ । नेपालमा कम लगानीमा उच्च लाभ लिन सकिने थुप्रै क्षेत्रहरु छन् । यहाँ प्रशस्त खनिज पदार्थ भएको अनुमान गरिन्छ । यदि हामीसँग प्रयाप्त कोइला छ भने कोइलाको अध्ययन गरेर उत्खनन गरौं । तामा, फलाम, सिसा, जडिबुटी, हस्तकला, जैविक उत्पादन जहाँ जे छ, ती वस्तुको यथार्थता अध्ययन गरी उत्सृजनमा जोड दिउँ । हामीसँग के छैन, फोहोरबाट ग्यास निकाल्न सकिन्छ । जलविद्युत, कृषि, पर्यटन लगायतका सम्भावनायुक्त क्षेत्रमा हाम्रो लगानी र सीप एवं क्षमताको उपयोगले हाम्रो अवस्था माथि उठाउन सकिन्छ । यसको लागि हामीले उद्यमशिल मानसिकता विकास गर्नु जरुरी छ ।




शिक्षाअर्थ/बाणिज्य

प्रतिक्रिया