सर्वज्ञराज शाक्य मुर्तिकला क्षेत्रमा परिचित नाम हो । बाल्यकाल देखि नै उनी मुर्तिकला क्षेत्रमा संलग्न रहँदै आएका छन् । यसै क्षेत्रमा संलग्न भएर सर्वज्ञराजले झण्डै ५ दशक बिताइसकेका छन् । मुर्तिकला क्षेत्रमा सर्वज्ञराज र उनका बुबा हजुरबुबाले पु¥याएको योगदान निकै महत्वपूर्ण छ । सोहीकारण सर्वज्ञराजले विभिन्न उत्कृष्ट अवार्डहरु समेत प्राप्त गरेका छन् । अघिल्लो बर्ष पनि सम्पूर्ण हस्तकला व्यवसायीहरुको छाता संगठन नेपाल हस्तकला महासंघले आयोजना गरेको एउटा प्रदर्शनीमा सर्वज्ञराज आफैंले निर्माण गरेको ताराको मुर्तिले उत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।
मुर्तिकलामा चर्चित र स्थापित परिवारमा जन्मिएका सर्वज्ञराज मुर्तिकला क्षेत्र राष्ट्रिय गौरवको विषय भएको र यस अन्तरगत निर्माण गरिने मुर्तिहरुले हाम्रो पहिचान कायम राखिरहनुपर्ने कुरामा जोड दिन्छन् । यस क्षेत्रमा नयाँ व्यक्तिहरु समेत प्रवेश गर्दा त्यस्ता व्यक्तिहरुले कतिपय अवस्थामा आधारभूत मूल्यमान्यतालाई समेत ख्याल नगरेको स्थिति समेत यदाकदा देखा परेको प्रसङ्गलाई लक्षित गर्दै उनी क्षणिक लाभबाट प्रेरित व्यावसायिक गरिमा कायम गर्नको लागि आग्रह गर्छन् । साथै उनी आफू पनि आफ्ना पुर्खाहरुले रचेको इतिहासलाई जोगाउँदै आफ्नो व्यवसायलाई नयाँ तवरले अघी बढाउने कार्यमा निरन्तर सक्रिय रहँदै आएका छन् ।
शाक्यको परिवारले थुप्रै राष्ट्रिय महत्वका संरचनाहरु निर्माण गरेको छ । अहिले पनि आफ्नो परिवारको क्षमता र योग्यताको चर्चा विभिन्न ठाउँमा भइरहँदा शाक्य खुशी महसुस गर्छन् । जसले गर्दा आफूलाई अझ सशक्त तवरले अघी बढ्न प्रोत्साहन मिल्ने गरेको समेत शाक्य बताउँछन् ।
मुर्तिकला क्षेत्रमा आफ्नो वंशको इतिहास निकै लामो रहेको दावी गर्छन् सर्वज्ञराज । कहिले भक्तपुर त कहिले पाटन गर्दै हस्तकला क्षेत्रको प्रवद्र्धनमा उनको पुर्खा सक्रिय रहँदै आएको छ । हाल सर्वज्ञराज ललितपुर क्षेत्रबाट मुर्तिकला क्षेत्रमा संलग्न रहँदै आएका छन् । आफूहरुले इमान्दारिता, विश्वास र निष्ठापूर्वक व्यवसाय गर्दै आएको कारण लामो समय सम्म यस क्षेत्रमा अलग प्रतिष्ठा सहित संलग्न रहन सकेको सर्वज्ञराजको बुझाइ छ ।
सर्वज्ञराजका अनुसार उनको वंश लामो समय देखि पाटनमा रही विभिन्न कलात्मक हस्तकलाजन्य सामाग्रीहरु उत्पादन कार्यमा संलग्न रहँदै आएको थियो । आफ्नो पुर्खा भक्तपुर दरबार क्षेत्रमा सुनको ढोका निर्माण गर्नको लागि भक्तपुर बसाईं सरेको जानकारी सर्वज्ञराजले इतिहासको अध्ययनबाट जानकारी पाएका हुन् । भक्तपुरमा रहँदा भक्तपुर दरबार क्षेत्रमा विभिन्न कलात्मक वस्तुहरु कुँदेर आफ्नो कलालाई सदैव जीवन्त राख्ने काम भयो । त्यस बारे इतिहास सम्बन्धमा चासो राख्ने भक्तपुरका संघरत्न शाक्य नाम गरेका एकजना अग्रजले समेत अध्ययन गरिरहनुभएको छ । उहाँको उक्त अध्ययनलाई आधार बनाई यस सम्बन्धी एउटा पुस्तक समेत प्रकाशन गर्दै हुनुहुन्छ ।
सर्वज्ञराज शाक्यले मुर्तिकला एवं गरगहना सम्बन्धी सीप आफ्नो बुबाबाट नै सिकेका हुन् । आफ्ना बुबा सुनचाँदीका बुट्टा काट्ने काममा पनि सिद्धहस्त भएको शाक्य बताउँछन् । जसले गर्दा उहाँको सीपको निकै प्रशंसा हुने गथ्र्यो । उहाँले काटेका तिलहरी, ढुंग्री लगायतमा सुनचाँदीका बुट्टा होस् वा मुर्तिहरुको बुट्टा काट्न मानिसहरु लालायित हुन्थे ।
विगत ३५ बर्ष देखि यस व्यवसायमा संलग्न रहँदै आएका सर्वज्ञराज आफूले व्यावसायिक लाभबाट भन्दा पनि आत्मसन्तुष्टिबाट बढी खुसी मिल्ने महसुस गर्छन् । आफू करिब साढे ३ दशक देखि यसै क्षेत्रमा संलग्न रहने क्रममा यस क्षेत्रमा थुप्रै परिवर्तनहरुको उनले महसुस गरेका छन् । प्रविधिमा परिवर्तन आएको छ । मानिसहरुको रुचिमा परिवर्तन आएको छ । काम गर्ने तौरतरिका र बजारीकरणमा परिवर्तन आएको छ । शुरुमा यस क्षेत्रमा प्रवेश गर्दा आफ्नो काम बारे उनी आफू पनि त्यति जानकार थिएनन् । काम गर्दै जाने क्रममा नयाँ कुरा सिक्दै गए । ज्ञान, सीप र अभ्यासबाट खारिएकै कारण सर्वज्ञराज अहिलेको अवस्थामा आउन सकेका हुन् । सिक्न चाहने जुनसुकै व्यक्तिको लागि पनि यही नियम लागु हुने उनी बताउँछन् । काम सिक्दै जाने क्रममा उनले एउटै बुद्ध पनि ठाउँ र परिवेश बमोजिम विभिन्न आकार एवं स्वरुपमा मिलाएर मुर्ति बनाउनुपर्दो रहेछ भन्ने सिके । कस्तो बेला कुन किसिमको मुर्ति बनाउने, मुर्ति बनाउँदा उक्त मुर्तिमा के–कस्ता कुराहरुलाई समेट्नुपर्छ भन्ने बारे नयाँ पुस्ताले खासै चासो नराख्ने गरेकोमा सर्वज्ञराज खेद प्रकट गर्छन् । सम्पूर्ण सूक्ष्म कुराहरुलाई समेत विचार गर्न सकेमात्र मुर्ति पूर्ण हुन सक्ने उनको धारणा छ ।
मुर्तिकला क्षेत्रमा संलग्न हुन चाहने व्यक्तिले यस सम्बन्धी विभिन्न पक्षहरुको ज्ञान हासिल गर्नु जरुरी छ । एउटै भगवानलाई पनि विभिन्न परिवेशमा विभिन्न नामले पुकारिन्छ । यदि कहीँ अष्टमंगलको रुपमा बुद्धलाई सम्बोधन गरिन्छ भने उक्त अष्टमंगल स्वरुपमा रहेका गौतम बुद्धमा प्रयोग गरिने चिन्हहरु कुन कहाँ रहनुपछ्र्र भन्ने कुरा शिल्पकारलाई ज्ञान हुनु जरुरी रहन्छ । अष्टमङ्गलमा रहने कलश, शंख, फूल, छाता लगायतका चिन्हहरु कुन कहाँ राख्ने भन्ने सम्बन्धमा राम्रो जानकारी नराखी तयार गरिएका मुर्तिहरु पूर्ण हुँदैनन् । तर अहिलेका कलाकारहरुले यस पक्षलाई खासै वास्ता गरेको पाईंदैन । कसरी छिटो आफूले जिम्मा लिएको काम पूरा गरेर पैसा लिन सकिन्छ भन्नेमा अहिलेका पुस्ता बढी आकर्षित हुँदा मुर्तिकला क्षेत्रको गरिमा नै कायम नहुन सक्छ ।
सर्वज्ञराजका अनुसार मुर्तिकलामा संलग्न व्यक्तिले काम गर्ने क्रममा पैसालाई भन्दा बढी महत्व आत्मसन्तुष्टिलाई दिनुपर्छ । यसरी आफ्नो काममा आनन्द लिन सकेको खण्डमा मात्र आफ्नो कामलाई बढी गुणस्तरीय बनाउन सकिन्छ ।
मुर्तिकला निर्माणको लागि आवश्यक मुख्य कच्चा पदार्थ मुख्यतः तामा र मैन हुन् । अहिले सम्म यी सामानहरु बाह्य बजारबाट भित्र्याउनुपर्ने अवस्था छ । पछिल्लो समय यी सामानहरुको मूल्य बढेको छ । केही पहिले सम्म ९ सयको हाराहारीमा रहेको तामा अहिले करिब १२ सय पुगेको छ । यसले गर्दा मुर्तिहरु उत्पादन गर्न निकै गाह्रो अवस्था सिर्जना भएको छ । साथै लागत समेत बढ्ने अवस्था छ ।
मुर्तिकला क्षेत्रमा लामो समय देखि संलग्न रहँदै आएका व्यक्तिका नयाँ पुस्ता पछिल्लो समय यस क्षेत्रमा निरन्तर संलग्न रहन खासै आकर्षित देखिएका छैनन् । तर मुर्तिकला भन्दा अन्य क्षेत्रमा संलग्न नयाँ पुस्ताका युवाहरु भने मुर्तिकला क्षेत्रमा आकर्षित भएको अवस्था छ । जसले गर्दा पुस्ता हस्तान्तरण हुँदै सञ्चालनमा रहेको यो व्यवसाय विस्तारै कमजोर हुँदै जाने अवस्था नआउला भन्न नसकिने अवस्था रहेको सर्वज्ञराजको विष्लेषण छ । मुर्तिकला क्षेत्रलाई नजिकबाट बुझेका व्यक्तिहरुले यस क्षेत्रमा भावी सम्भावना राम्रो नदेखेको कारण यस क्षेत्रबाट मानिसहरु अलग्गिन चाहेको हुनुपर्छ । यद्यपि यस क्षेत्रको प्रवद्र्धनको लागि केही काम गर्न सकेको खण्डमा भने सीपमूलक व्यवसायको रुपमा रहेको यस क्षेत्रको आगामी सम्भावना राम्रो रहन सक्छ ।
व्यवसायीहरुलाई शाक्यको सन्देश
अहिलेको समय प्रतिष्पर्धाको समय हो । यस समयमा मानिसहरुले आत्मसम्मान र प्रतिष्ठालाई भन्दा बढी महत्व आर्थिक पक्षलाई नै दिने चलन बढेको छ । मानिसहरुले स्वतन्त्र रुपमा व्यापार गर्न पाइने अवस्था छ । प्रतिष्पर्धी बजारमा नाफाघाटा नै बढी महत्वपूर्ण हुने भएपनि व्यापारको क्रममा आधारभूत सिद्धान्तहरुमा टेकेर काम गर्नुपर्ने जरुरी रहन्छ । कला, संस्कृति र पहिचानसँग जोडिएको मुर्तिकला क्षेत्रमा संलग्न व्यक्तिले व्यापार गर्ने क्रममा पनि सम्बन्धित क्षेत्रको पहिचान कायम हुन सकोस् भन्ने कुरामा विशेष विचार गर्नुपर्ने हुन्छ ।
जुनसुकै व्यवसायमा संलग्न रहँदा पनि बैंकबाट कर्जा लिएर काम गर्नुपर्ने र नियमित व्याज र मुनाफाको हिसाबकिताब गर्नुपर्ने भएपनि सँगसँगै आफ्नो इतिहास र आधारभूत मूल्यमान्यतालाई पनि ख्याल गर्नसके मात्र आफ्नो पहिचान र प्रतिष्ठा कायम रहन सक्छ । यसकारण व्यापार गर्दा पनि निश्चित सीमा भित्र रहनुपर्छ । यसबाट मात्र मात्र हामीले आफू संलग्न क्षेत्रको संरक्षण र सुधार गर्न सक्छौं ।
नेपालमा उत्पादन हुने वस्तुहरुलाई यहीँ नै बजारीकरण गर्नको लागि समेत नेपाल सरकारले विशेष पहल गर्नुपर्छ । युवाहरुलाई उद्यमशिल र आत्मनिर्भर बनाउनको निम्ति यहाँ सम्भावना भएका नयाँ क्षेत्रहरुको खोजी गर्ने तर्फ पनि राज्यले विशेष जोड दिनुपर्छ ।
नेपालमा सकारात्मक सोच र योजनावद्ध रुपमा अघी बढ्न सकेको खण्डमा आगामी दिनहरुमा राम्रो तवरले हाम्रा व्यावसायिक गतिविधिहरुलाई पुन माथि उठाउन सकिन्छ । यस बर्ष त कोभिड–१९ को कारण व्यावसायिक कारोबार निकै नै घटेको छ । मानिसको जनजीवन नै कष्टकर र तहसनहस बनेको छ । विस्तारै परिस्थिति अब सामान्य बन्दै गएको छ । छिट्टै नै सबै क्षेत्रहरु सन्तुलनमा आउनेछन् भन्नेमा हामी आशावादी हुँदै अघी बढ्नसके हाम्रो अवस्थामा पुनः सुधार आउन सक्नेछ । यसकारण हामी आशावादी रहँदै हामी जो जहाँ छौं त्यहीँबाट माथि उठ्नु जरुरी छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।