add

मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक, भएन नीतिगत हेरफेर






ActPro Nepal

|

१४ मंसिर, २०८१

|
50

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रथम त्रैमासिक समीक्षामा कुनै नीतिगत परिवर्तन गरिएको छैन । राष्ट्र बैंकले गत साउनमा ल्याएको मौद्रिक नीतिको कार्यदिशालाई नै निरन्तरता दिएको हो ।

साउनमा ल्याइएको नीतिबाटै मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्नगई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा केन्द्रीय बैंकको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखेको छ ।

त्यस्तै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ ।

विप्रेषण आप्रवाहमा भएको वृद्धिलगायतका कारण २०८१ असोजमा कायम विदेशी विनिमय सञ्चितिले १४.६ महिनाको वस्तु तथा सेवाको आयात धान्नसक्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या वृद्धि भई विप्रेषण आप्रवाहमा समेत वृद्धि हुने अनुमानका आधारमा चालु आर्थिक वर्षको बाँकी अवधिमा पनि विदेशी विनिमय सञ्चिति सुविधाजनक रहने अनुमान राष्ट्र बैंकको छ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तर बैंकदर ३ प्रतिशत रहेको छ । चालु आवमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धिदर १२.५ प्रतिशत हुने लक्ष्य राखिएकोमा प्रथम त्रैमाससम्म कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा १२.८ प्रतिशतले वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुुपात २०८० असोजमा ३.६६ प्रतिशत रहेकोमा २०८१ असोजमा ४.४२ प्रतिशत पुगेको छ । २०८१ असोजमा वाणिज्य बैंकको ४.२८ प्रतिशत, विकास बैंकको ४.३७ प्रतिशत र वित्त कम्पनीको १०.८४ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको छ ।



एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.