add

अन्तत : नबिल बैंकले किन्ने भयो नेपाल बंगलादेश बैंक,कति तोकियो स्वाप रेसियो ?






ActPro Nepal

|

३० पुष, २०७८

|
754

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीच एक्विजिसन सम्बन्धि प्रारम्भिक सम्झौता सम्पन्न भएको छ ।

लामो समयको चर्चा र प्रयासपछि बिहीबार नबिल बैंक र नेपाल बंगलादेश बैंक बीच गाभ्ने/गाभिने (एक्वीजिसन)सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।

बिहिबार साँझ होटल भिभान्तमा दुवै बैंकका प्रतिनिधिले मर्जर सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकको तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन्।

क्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंकका सञ्चालक आशा राणा अधिकारी तथा सञ्चालक अनन्त पौड्याल सदस्य रहेका थिए भने नेपाल बङ्गलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम सरवर, सञ्चालक इन्द्र बहादुर थापाका साथै सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर/एक्विजिसन कमिटि बनेको थियो ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति (Acquire) गर्नको लागि भएको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात (Swap Ratio) कायम भएको जनाएका छन् ।

उक्त प्रारम्भिक शेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुने बैंकहरूले बताएका छन् ।

सम्झौतापत्रमा नविल बैंकको तर्फबाट उदय कृष्ण उपाध्यायले हस्ताक्षर गरेका थिए भने नेपाल बङ्गलादेश बैंकका तर्फबाट सञ्चालक इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए ।

दुबै बैकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैंकहरु को दीर्घकालीन रणनैतिक योजनालाई समेत मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेकाे बताएका छन।

ब्राण्डका हिसाबले अग्रणी स्थानमा रहेको नविल बैंकले गैरकोषमा आधारित व्यवसायमा अग्रणी नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति पश्चात बैंक बाणिज्य बैंकहरुमा सबै सूचकांकहरुमा अग्रणी हुने विश्वास छ ।

मर्जर सम्झौता गरेसँगै आगामी आइतबारदेखि नेपाल बंगलादेश बैंकको सेयर कारोबार रोक्का हुने भएको छ । एकीकृत कारोबार सुरु भएपछि बंगलादेश बैंकका सेयरधनीले नबिल बैंकको नामबाट सेयर कारोबार गर्नेछन् ।

अब दुवै बैंकले नियामक निकायहरु नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारलाई गाभ्ने/गाभिने सम्झौता बारे जानकारी गराउनुपर्नेछ ।

नबिल बैंकको हालको चुक्ता पूँजी १३ अर्ब ८४ करोड रुपैयाँ छ। बैंकले गत वर्षको मुनाफाबाट ३३.६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । शुक्रबार हुने साधरण सभाले उक्त प्रस्ताव पारित गरेपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ४९ करोड रुपैयाँ पुग्नेछ।

त्यसैगरी हाल नेपाल बंगलादेश बैंकको चुक्ता पूँजी ९ अर्ब ४ करोड रुपैयाँ छ। बैंकको साधरण सभाले गत वर्षको नाफाबाट घोषणा गरेको १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब १२ करोड पुग्नेछ ।

सो अनुसार बंगलादेश बैंकबाट नबिलको चुक्ता पूँजीमा ४ अर्ब २५ करोड रुपैयाँ थपिने छ । बंगलादेश बैंकलाई गाभेपछि नबिलको चुक्ता पूँजी २२ अर्ब ७४ करोड रुपैयाँ पुग्ने छ।

हाल बंगलादेश बैंकको जगेडा कोषमा ६ अर्ब ७४ करोड रुपैयाँ छ । स्वाप रेसियो अनुसार बंगलादेश बैंकको पूँजीबाट नबिलको जगेडा कोषमा ५ अर्ब ८६ करोड रुपैयाँ जानेछ। यसरी बंगलादेश बैंकलाई गाभ्दा नबिलको जगेडा कोषमा १२ अर्ब ६० करोड रुपैयाँ थपिने छ ।

हाल नबिलको रिजर्भमा १५ अर्ब ६३ करोड रुपैयाँ र रिटेन अर्निङमा ४ अर्ब ८३ करोड रुपैयाँ छ । बंगलादेश बैंकलाई गाभेपछि नबिलको रिजर्भ कोष र रिटेन अनिङ गरी कुल ३३ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

प्राप्तिपछि नबिलको पूँजी कोष (चुक्ता पूँजी र रिजर्भ) ५६ अर्ब ३४ करोड रुपैयाँ पुग्नेछ । चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार नबलिको निक्षेप २ खर्ब २५ अर्ब ८८ करोड र कर्जा लगानी २ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, बंगलादेशको निक्षेप ७७ अर्ब ८८ करोड र ऋण लगानी ७४ अर्ब ६१ करोड रुपैयाँ छ । प्राप्तिपछि कुल कर्जा ३ खर्ब ३ अर्ब ७६ करोड र ऋण लगानी २ खर्ब ९० अर्ब १९ करोड पुग्नेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.