काठमाडौं । नेपाल राष्ट्रबैंकले मोवाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा संसोधन गरेको छ । राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले संसोधित सीमाको विषयमा भुक्तानी सम्बन्धी कार्य गर्ने सबै संस्थाहरुलाई परिपत्र गर्दै जानकारी दिएको हो ।
मोवाइल तथा इन्टरनेटबाट गरिने कारोबारहरुको अधिकतम सीमाअन्तर्गत मोवाइल बैंकिङ(क्यूआर कोड समेत) प्रतिदिन १ लाख र मासिक रु. १० लाख तोकिएको छ ।
इन्टरनेट बैंकिङ(मर्चेन्ट पेमेन्ट)को सीमा प्रतिदिन रु. १० लाख र मासिक रु. ३० लाख कायम गरिएको छ भने इन्टरनेट बैंकिङ(अकाउण्ट टान्सफर)को सीमा दैनिक १० लाख र मासिक ५० लाख रुपैयाँ तोकिएको छ ।
तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्दा यो सीमा लागू नहुने प्रष्ट पारिएको छ ।
नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजश्व, जरीवाना, सवारी दस्तुर, रजिष्ट्रेसन तथा सेवाशुल्क जस्ता विविध शुल्कहरु भुक्तानी गर्दा समेत यो सीमा लागू हुने छैन ।
विद्युत सेवा, दूरसंचार सेवा, खानेपानी सेवा, बिमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकम भुक्तानीमा समेत यो सीमा लागू नहुने बताइएको छ ।
शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नुपर्ने बिल बमोजिमको रकमको हकमा समेत यो सीमा लागू हुने बताइएको छ ।
कोभिड १९ महामारीले गर्दा आवागमनमा पर्न गएको असहजताका कारण अर्को व्यवस्था नभएसम्मका लागि, धितोपत्र व्यवसाय गर्न अनुमतिप्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबार गरे बापत सेवाग्राही ग्राहकबाट वा लाई प्रति भुक्तानी कारोबार अधिकतम मोवाइल बैंकिङतर्फ १ लाख र इन्टरनेट बैंकिङतर्फ रु. १० लाखका हिसाबले रकम भुक्तानी गर्न वा प्राप्त गर्न सकिनेछ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।