काठमाडौं। ‘ड्राइभिङ लाइसेन्स’ को नयाँ आवेदन तिहार अघि खुल्ने भएको छ ।
यातायात व्यवस्था विभागले दिएको जानकारी अनुसार लाइसेन्स आवेदनको प्रक्रिया यसैसाता नै सुरु गर्न लागिएको हो ।
‘ड्राइभिङ लाइसेन्स’ को नयाँ आवेदन यसैसाता खोल्नेगरी हामी तयारी गरिरहेका छौं ।’ महानिर्देशक नमराज घिमिरेले एक्ट प्रो नेपाल सङ भने, ‘धेरै मानिसहरुको गुनासो हामीले अनलाईन फारम पनि भर्न नपाउने भन्ने आयो ।
त्यसलाई मध्यनजर गर्दै हामीले नयाँ आवेदन खोल्ने तयारी गरिरहेका छौं ।’
रोकिएका व्यक्तिको परीक्षा नसकिए पनि गुनासो धेरै आएको कारण अनलाईन आवेदन ओल्ने लागेको कुरा महानिर्देक घिमिरे बताउँछन् ।
नयाँ खुल्ने आवेदन पनि अनलिमिटेड रुपमै भर्न पाईने उनले जानकारी दिए ।
‘रोकिएका व्यक्तिको परीक्षा सकिएको छैन् । महामारीकै बेलामा यसअघि आवेदन दिएका ३ लाख बढी सेवाग्राहीको भने ट्रायल परिक्षा भईरहेको छ । तीन लाख मानिसले ट्रायल दिएपछि उनीहरुको पालो आउँछ ।’ महानिर्देशक घिमिरेले बताए ।
कोरोना संक्रमण दर बढ्दै गएपनि गत वैशाख १५ गतेदेखि अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगित गरेको विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत भएसंगै गत भदौ २० गतेबाट रोकिएका परीक्षा सञ्चालन गर्ने अनुमति पाएको थियो ।
यस्ता छन् मापदण्ड
नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ ।
यसैगरी परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ ।
तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ ।
परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने भनिएको छ ।
कार्यालयले खुला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था छ । अब ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, २०७७’ अनुसार परीक्षा हुने बताइएको छ ।
यसैबीच नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि वस्तुगत नमूना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिएको हो ।
लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चाररचार अङ्कका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जनाएको छ ।
त्यही सङ्ग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अंक ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ ।
एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।