काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सानदार जित निकाल्दै सुदूरपश्चिम पहिलोपटक एनपीएल च्याम्पियन बनेको हो।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै पनि विकेट नगुमाई १४.३ ओभरमै पूरा गर्यो। ओपनर जर्ज मुन्से र विनोद भण्डारीबीच भएको अविजित १५८ रनको साझेदारीले सुदूरपश्चिमलाई सहज जित दिलायो।
सुदूरपश्चिमका जर्ज मुन्सेले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा १२ छक्का र ८ चौकासहित अविजित १२५ रन बनाए। यो जारी एनपीएलको सर्वाधिक व्यक्तिगत स्कोरसमेत हो। उनले ४९ बलमै शतक पूरा गरेका थिए। एनपीएलको तेस्रो संस्करणमा शतक बनाउने उनी तेस्रो खेलाडी बनेका छन्।
त्यस्तै, विनोद भण्डारीले २७ बलमा ३ चौकासहित अविजित ३० रनको योगदान दिए।
लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै अघिल्ला दुई संस्करणको हारको बदला लिएको छ। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग ५ विकेटले र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि उचालेको हो।
यस सिजनको उद्घाटन खेल तथा लिग चरणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा भने शानदार पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पारेको छ। उता, लगातार दोस्रोपटक उपाधि जितेर इतिहास रच्ने लुम्बिनीको सपना भने अधुरै रह्यो।
यसअघि टस जितेर बलिङ रोजेको सुदूरपश्चिमविरुद्ध ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।
लुम्बिनीका कप्तान रोहित पौडेलले ३१ बलमा २ चौकासहित ३० रन बनाए। उनले डार्सी सर्टसँग दोस्रो विकेटका लागि ३०, निरोशन डिकवेलासँग तेस्रो विकेटका लागि ३९ र दिलीप नाथसँग चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए।
डार्सी सर्टले १८ बलमा ४ चौकासहित २१ रन बनाए भने निरोशन डिकवेलाले २८ रन जोडे। सन्दीप जोराले ४ र आसिफ शेखले १ रन मात्र बनाउन सके।
त्यस्तै, दिलीप नाथले अविजित ३९ रन बनाए। अली शेखले १२ बलमा २ चौका र २ छक्कासहित २४ रनको योगदान दिए। यी दुईबीच छैटौँ विकेटका लागि ३३ रनको साझेदारी भएको थियो। रुवेन ट्रम्पलमेन ४ रनमा अविजित रहे।
सुदूरपश्चिमका लागि स्कट कुगेलाइनले २ विकेट लिए। हेमन्त धामी, थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे।
यससँगै एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले आफ्नो नाममा लेखाउँदै प्रतियोगितामा नयाँ च्याम्पियन बनेको छ।




Comment