विभागद्वारा दुई महिनामै ८८७ फर्ममा अनुगमन, ७४ लाई कारबाही, २२ लाखभन्दा बढी जरिवाना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि तथा व्यापारिक अनियमितता नियन्त्रण गर्न अनुगमनलाई तीव्र बनाएको छ।

विभागले गत दुई महिना असोज र कात्तिकमा मात्रै ८८७ वटा व्यावसायिक फर्मको अनुगमन गरेको छ। अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गर्दै २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरेको विभागले जनाएको छ।

विभागका महानिर्देशक रितेशकुमार शाक्यले जिम्मेवारी सम्हालेपछि बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन टोली परिचालन बढाइएको हो। उनका अनुसार उपभोक्ताको हितविपरीत हुने गतिविधि नियन्त्रणका लागि दैनिक पाँचदेखि १० वटासम्म अनुगमन टोली परिचालन हुँदै आएका छन्।

बजारमा देखिने कृत्रिम मूल्यवृद्धि, व्यापारिक अनियमितता, गुणस्तरहीन वस्तुको बिक्री तथा उपभोक्ता ठगी नियन्त्रणलाई विभागले प्राथमिकतामा राखेको महानिर्देशक शाक्यले बताएका छन्।

उनले उपभोक्ताले गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा प्राप्त गर्ने वातावरण निर्माण गर्नु विभागको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै नियमित बजार अनुगमनलाई निरन्तरता दिइने बताए।

खाद्यान्नदेखि होटल तथा ग्यास पसलसम्म अनुगमन

विभागले खाद्यान्न तथा किराना पसल, होटल तथा रेस्टुरेन्ट, चमेनागृह, ग्यास स्टोर, रेडिमेड तथा थान कपडा पसल, कस्मेटिक, अटो पार्ट्स, तरकारी तथा फलफूल पसललगायत विभिन्न व्यापारिक क्षेत्रमा अनुगमन विस्तार गरेको छ।

अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, बिक्रीवितरणको अवस्था, व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड तथा उपभोक्ता अधिकारको पालना भए–नभएको विषयमा निगरानी गरिएको विभागले जनाएको छ।

यस अवधिमा कैफियत देखिएका थप ७६ वटा व्यावसायिक फर्मलाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। यसबाट तत्काल कारबाहीमा परेका फर्मबाहेक अन्य व्यवसायीमाथि पनि थप छानबिन र नियामकीय निगरानी भइरहेको देखिन्छ।

अनुगमनमा सर्वसाधारणको सहयोग अपेक्षा

विभागले बजारमा हुने अनियमितता नियन्त्रणका लागि सरकारी अनुगमनसँगै उपभोक्ता तथा सर्वसाधारणको सहयोग पनि आवश्यक रहेको जनाएको छ।

महानिर्देशक शाक्यले बजारमा ठगी, अनुचित व्यापारिक गतिविधि, कृत्रिम मूल्यवृद्धि वा उपभोक्ताको हितविपरीतका कार्य भएको पाइएमा विभागलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेका छन्।

विभागले बजारको अवस्था र आवश्यकताअनुसार अनुगमन टोलीको सङ्ख्या तथा परिचालनलाई थप प्रभावकारी बनाउँदै उपभोक्ता अधिकार संरक्षण र बजार व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।