त्रिविका शैक्षिक प्रमाणपत्र अब हुलाकबाटै घरघरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना शैक्षिक प्रमाणपत्र र अन्य कार्यालयीय कागजात हुलाक सेवामार्फत सम्बन्धित विद्यार्थीको घरमै पुर्याउने व्यवस्था सुरु गरेको छ। यसका लागि त्रिवि र हुलाक सेवा विभागबीच सम्झौता भएको छ। विश्वविद्यालयका रजिस्ट्रार रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले कीर्तिपुरस्थित त्रिवि कार्यालयमा मंगलबार २२ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

यस व्यवस्थाले विद्यार्थीलाई प्रमाणपत्र लिन विश्वविद्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने र समय तथा यातायात खर्च बचत हुने अपेक्षा गरिएको छ। विशेषगरी काठमाडौं उपत्यकाबाहिरका विद्यार्थीका लागि यो सेवा बढी प्रभावकारी हुने रजिस्ट्रार शिवाकोटीले बताए। उनले भने, ‘यस व्यवस्थाले विशेषगरी काठमाडौं उपत्यकाबाहिर बस्ने विद्यार्थीलाई सहज हुने अपेक्षा गरिएको छ। प्रमाणपत्र लिन विश्वविद्यालयसम्म आउनुपर्दा लाग्ने यातायात खर्च, समय र अन्य झन्झट कम हुनेछ।’

सम्झौताअनुसार कागजात ढुवानी र वितरणलाई सुरक्षित बनाउन ‘पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम’ (पिआइटिएस) को प्रयोग गरिनेछ। हुलाकबाट पठाइने कागजात बारकोडसहित प्रणालीमा दर्ता गरिने भएकाले विद्यार्थीले आफ्नो प्रमाणपत्र कहाँ पुग्यो भन्ने कुरा सहजै अनुगमन गर्न सक्नेछन्। सेवा लिनका लागि विद्यार्थीले आफ्नो सही ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ।

महानिर्देशक भट्टराई पंगेनीले हुलाक सेवा नागरिक र राज्यबीचको भरपर्दो माध्यम भएको बताउँदै विश्वविद्यालयका कागजात र प्रमाणपत्र सम्बन्धित स्थानमा पुर्याउने जिम्मेवारी हुलाकले पाएको उल्लेख गरिन्। सरकारले यसअघि नै राहदानी र सवारीचालक अनुमतिपत्रजस्ता सरकारी कागजात हुलाकमार्फत वितरण गर्ने कार्य अघि बढाइसकेको छ। त्रिविसँगको यो सहकार्यले विश्वविद्यालयको सेवा प्रवाहलाई थप विद्यार्थीमैत्री र छरितो बनाउने विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।