काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पछिल्ला पाँच आर्थिक वर्षमा वाणिज्य बैंकहरूलाई प्रदान गरेको क्रेडिट रेटिङसम्बन्धी विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७९ देखि २०८३ सम्मको अवधिलाई समेटिएको उक्त विवरणअनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ बैंकको इक्रा नेपालबाट अद्यावधिक रेटिङ कायम रहेको छ। सूचीमा नपरेका अन्य बैंकहरूको रेटिङ अन्य क्रेडिट रेटिङ संस्थाबाट गरिएको वा हालसम्म अद्यावधिक नगरिएको जनाइएको छ।
इक्रा नेपालको सार्वजनिक विवरणअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकले पछिल्ला पाँच वर्षदेखि लगातार उच्चतम क्रेडिट रेटिङ कायम राख्दै शीर्ष स्थान सुरक्षित गरेको छ। बैंकको स्थिर र उच्च रेटिङले यसको वित्तीय अवस्था मजबुत रहेको तथा कर्जा जोखिम तुलनात्मक रूपमा न्यून रहेको संकेत गर्छ। त्यसैगरी, नेपाल एसबीआई बैंकले पनि पछिल्ला तीन वर्षदेखि आफ्नो रेटिङमा स्थिरता कायम राख्दै उच्च रेटिङ प्राप्त गर्ने बैंकहरूमध्ये अग्रस्थानमा रहेको छ।
पछिल्ला वर्षहरूमा केही बैंकको रेटिङमा सुधार तथा परिवर्तन देखिएको छ भने केही बैंकले आफ्नो रेटिङ फिर्ता गराएका छन्। इक्रा नेपालका अनुसार एभरेस्ट बैंक र कृषि विकास बैंकले आफ्नो क्रेडिट रेटिङ फिर्ता गराएका छन्।
हाल अद्यावधिक रेटिङ सूचीमा रहेका बैंकहरूमध्ये नबिल बैंक र नेपाल बैंकले ‘ए’ रेटिङ प्राप्त गरेका छन्। त्यस्तै, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनएमबी बैंकले ‘ए माइनस’ रेटिङ हासिल गरेका छन्। माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले ‘बीबीबी प्लस’ रेटिङ प्राप्त गरेका छन् भने सिटिजन्स बैंक इन्टरनेसनल र लक्ष्मी सनराइज बैंकको रेटिङ ‘बीबीबी’ रहेको छ। त्यसैगरी, कुमारी बैंक र प्रभु बैंकले ‘बीबी प्लस’ रेटिङ प्राप्त गरेका छन्।
क्रेडिट रेटिङले कुनै पनि बैंकको वित्तीय अवस्था, कर्जा जोखिम, दायित्व वहन गर्ने क्षमता तथा समग्र वित्तीय सबलताको मूल्याङ्कन गर्ने भएकाले यसलाई बैंकको विश्वसनीयता मापन गर्ने महत्वपूर्ण आधार मानिन्छ। इक्रा नेपालको पछिल्लो विवरणले केही बैंकले आफ्नो उच्च वित्तीय विश्वसनीयता कायम राख्न सफल भएको देखाएको छ भने केही बैंकको मूल्याङ्कनमा परिवर्तन आएको संकेत गरेको छ। समग्रमा, बैंकिङ क्षेत्रको स्थायित्व, वित्तीय स्वास्थ्य र जोखिम व्यवस्थापनको अवस्था बुझ्न क्रेडिट रेटिङ महत्वपूर्ण सूचकका रूपमा रहेको छ।






Comment