काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच आर्थिक एजेन्डाका विषयमा घनिष्ठ समन्वय भइरहेको बताएका छन्। प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढेको भन्ने चर्चा निराधार रहेको भन्दै उनले उद्यमी तथा व्यवसायीहरूलाई अफवाहमा विश्वास नगर्न आग्रह गरेका छन्।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित उद्यमीहरूसँगको छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले पछिल्लो समय सञ्चारमाध्यम तथा व्यावसायिक वृत्तमा फैलाइएका टिप्पणीहरूको खण्डन गरेका हुन्। प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेका विभिन्न छलफलहरूमा आफू अनुपस्थित रहँदा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बेवास्ता गरेको भन्ने धारणा बनाइएको उनले बताए।
“बजारमा अर्थमन्त्री नदेखिएको विषयलाई मसला बनाइएको छ। वास्तवमा यो हामीबीचको सहमतिअनुसार भएको हो,” उनले भने, “व्यवसायी र प्रधानमन्त्रीबीच प्रत्यक्ष, बिचौलियारहित संवाद होस् भन्ने हाम्रो उद्देश्य हो।”
प्रधानमन्त्री शाह सार्वजनिक कार्यक्रममा कम देखिने स्वभावका भएकाले निजी क्षेत्रसँग प्रत्यक्ष संवादको रणनीति अपनाइएको पनि उनले स्पष्ट पारे। आर्थिक विषयमा प्रधानमन्त्रीको तहबाट विगत लामो समययताकै सबैभन्दा गहिरो चासो र सक्रिय समन्वय भइरहेको दाबी गर्दै उनले प्रत्येक मन्त्रिपरिषद् बैठकपछि आर्थिक एजेन्डाबारे विस्तृत छलफल हुने गरेको जानकारी दिए।
उद्यमीहरूले उठाएका विषयमा प्रधानमन्त्री आफैँले सम्बन्धित मन्त्रीहरूसँग नियमित रूपमा समन्वय गर्ने गरेको उल्लेख गर्दै वाग्लेले निजी क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको बताए। “प्रधानमन्त्रीज्यूले वस्तुको दररेटदेखि प्राविधिक विषयसम्म जानकारी लिएर तत्काल फलोअप गर्नुहुन्छ,” उनले भने।
उनका अनुसार सरकारको प्रमुख प्राथमिकता लगानी प्रवर्द्धन गर्नु हो। निजी क्षेत्रको लगानी सुरक्षित गर्ने र उचित प्रतिफल सुनिश्चित गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको दोहोर्याउँदै उनले व्यवसायीहरूलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे।
मुलुकको आर्थिक सुधारका लागि प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयबीच निकट समन्वय रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले बजारमा फैलाइएका झुठा सूचना र अफवाहबाट प्रभावित नहुन व्यवसायीहरूलाई आग्रह गरे।

Comment