१६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजस्व प्रणालीमा व्यापक सुधार गर्दै चालु आर्थिक वर्षको १६ खर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य हासिल गर्न ‘मिसन मोड’ मा काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

अर्थ मन्त्रालयमा सोमबार आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले स्पष्ट लक्ष्य, मापदण्ड र समयसीमा निर्धारण गरेर परिणाममुखी ढंगले काम गर्नुपर्नेमा जोड दिए। उनले राजस्व प्रशासनलाई प्रभावकारी, उत्तरदायी र नतिजामुखी बनाउन विशेष पहल आवश्यक रहेको बताए।

वाग्लेले सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत ‘मिसन मोड’ अवधारणालाई प्राथमिकता दिइएको उल्लेख गर्दै राजस्व प्रशासनले यसको सफल कार्यान्वयनको उदाहरण प्रस्तुत गर्नुपर्ने बताए। उनले निर्धारित लक्ष्य हासिल गर्न सबै निकायबीच समन्वय र कार्यक्षमता अभिवृद्धि आवश्यक रहेको धारणा राखे।

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र उपभोगको प्रवृत्ति हेर्दा राजस्व संकलन अपेक्षाअनुसार हुन नसकेको उल्लेख गर्दै उनले राजस्व चुहावट नियन्त्रण र करको दायरा विस्तारलाई प्राथमिकतामा राख्न निर्देशन दिए।

अर्थमन्त्री वाग्लेले विशेषगरी सहरी क्षेत्रमा आर्थिक गतिविधि विस्तार भए पनि त्यसअनुरूप राजस्व संकलन हुन नसकेको भन्दै यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए। उनले कर प्रशासनलाई थप प्रभावकारी बनाउँदै कर छली नियन्त्रण, करदाताको दायरा विस्तार तथा प्रविधिमैत्री प्रणालीको विकासमा ध्यान दिन आग्रह गरे।

राजस्व संकलनलाई सरकारको विकास र सेवा प्रवाहसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले निर्धारित लक्ष्य हासिल गर्न सबै कर्मचारीले जिम्मेवारीबोधका साथ काम गर्नुपर्ने बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।