काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को वैदेशिक व्यापार तथ्यांकले देशको आयात र निर्यात दुवै क्षेत्रमा वीरगञ्ज भन्सार कार्यालयको वर्चस्व कायम रहेको देखाएको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार कुल आयात र निर्यात दुवैतर्फ वीरगञ्ज भन्सार देशकै सबैभन्दा ठूलो व्यापारिक नाकाका रूपमा स्थापित भएको छ।
तथ्यांकअनुसार कुल आयातमध्ये ४७.०५ प्रतिशत हिस्सा वीरगञ्ज भन्सारले ओगटेको छ। आयाततर्फ भैरहवा भन्सार १४.५१ प्रतिशतसहित दोस्रो, विराटनगर ११.५४ प्रतिशतसहित तेस्रो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार ९.७१ प्रतिशतसहित चौथो तथा नेपालगन्ज भन्सार ४.१५ प्रतिशत हिस्सासहित पाँचौं स्थानमा रहेका छन्।
निर्याततर्फ पनि वीरगञ्ज भन्सार अग्रस्थानमै रहेको छ। कुल निर्यातको ३६.४३ प्रतिशत हिस्सा वीरगञ्जबाट भएको छ। विराटनगर भन्सार २८.१४ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा रहेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार १२.०३ प्रतिशतसहित तेस्रो स्थानमा छ। भैरहवा भन्सार ११.०८ प्रतिशत र मेची भन्सार ८.३३ प्रतिशत हिस्सासहित क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन्।
११ भन्सार कार्यालयबाट निर्यात शून्य
देशका प्रमुख भन्सार नाकाहरूले वैदेशिक व्यापारमा उल्लेखनीय योगदान पुर्याइरहेका बेला केही साना तथा क्षेत्रीय भन्सार कार्यालयहरूको व्यापारिक गतिविधि भने अत्यन्त कमजोर देखिएको छ।
आयाततर्फ त्रिवेणी भन्सार सबैभन्दा कमजोर देखिएको छ, जहाँबाट वर्षभरि जम्मा २ लाख ६५ हजार रुपैयाँ बराबरको आयात भएको छ। पशुपतिनगर, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ठाडी भन्सार कार्यालयबाट भने आयात शून्य रहेको तथ्यांकमा उल्लेख छ।
निर्याततर्फको अवस्था झन् चिन्ताजनक देखिएको छ। कुल २८ भन्सार कार्यालयमध्ये ११ वटा कार्यालयबाट आर्थिक वर्षभरि कुनै पनि वस्तु निर्यात नभएको तथ्यांकले देखाएको छ। ठूलो लगानीमा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा चीनसँग जोडिएको महत्त्वपूर्ण उत्तरी नाका तातोपानीबाट समेत निर्यात शून्य रहनुले पूर्वाधारको उपयोगिता र व्यापारिक सक्रियतामाथि प्रश्न उठाएको छ।
निर्यात शून्य रहेका भन्सार कार्यालयहरूमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, तातोपानी, सुठौली, सुनसरी, जनकपुर, महेशपुर, सती, भद्रपुर, सिराहा, राजविराज र ठाडी रहेका छन्।
यस्तै, निर्यात शून्य नभए पनि त्रिवेणी भन्सारबाट जम्मा १ लाख ९९ हजार रुपैयाँ तथा कञ्चनपुर भन्सारबाट ७१ लाख ११ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको विभागको तथ्यांकले देखाएको छ।
वैदेशिक व्यापार केही सीमित नाकामा केन्द्रित भइरहेका बेला धेरै भन्सार कार्यालयको न्यून व्यापारिक गतिविधिले पूर्वाधार उपयोग, व्यापार प्रवर्द्धन र नाका व्यवस्थापनको प्रभावकारिताबारे पुनर्विचार आवश्यक रहेको संकेत गरेको छ।

Comment