काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय सुधार देखिएको छ। नेप्से ७९.७४ अंकले बढेर २६७७.५४ बिन्दुमा पुगेको छ।
यसअघि बिहीबार नेप्से ७.५० अंक, मंगलबार १४ अंक र सोमबार ६.११ अंकले बढेको थियो। त्यसअघि भने बजार लगातार चार कारोबार दिनसम्म ओरालो लागेको थियो।
शुक्रबार कुल ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। कारोबार रकमसँगै बजारमा लगानीकर्ताको सक्रियता पनि बढेको देखिएको छ।
आज कारोबारमा सहभागी २५७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १४ कम्पनीको मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
पछिल्लो समय बजार निरन्तर घटेपछि केही लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा पुगेर ध्यानाकर्षण गराएका थिए। त्यसलगत्तै बोर्डले पुँजीबजार सुधारसम्बन्धी मार्गचित्र तथा नीति–कार्यक्रम सार्वजनिक गरेको थियो।
यस्तै, बजारमा देखिएको निराशाजनक अवस्थाका कारण सरकारमाथि दबाब बढेपछि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी पुँजीबजार सुधार र लगानीकर्ताको विश्वास अभिवृद्धिका विषयमा छलफल गरेका थिए।
लगातारको गिरावटपछि शुक्रबारको उच्च अंकको वृद्धिले लगानीकर्तामा उत्साह थपेको छ भने बजारले पुनः सकारात्मक लय समात्ने संकेत देखाएको विश्लेषकहरूको भनाइ छ।

Comment