काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) काठमाडौं उपत्यका विशेष समितिको आयोजनामा ‘टप रोप एन्ड लिड क्लाइम्बिङ च्याम्पियनसिप–२०२६’ सम्पन्न भएको छ।
यही असार २८ गते सम्पन्न प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले गर्नुभएको थियो। उद्घाटनका अवसरमा उहाँले नेपालको हिमाल, पर्वतीय पर्यटन तथा साहसिक खेलसँग प्रत्यक्ष सम्बन्ध रहेको स्पोर्ट क्लाइम्बिङलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो। क्लाइम्बिङ खेलले युवामा अनुशासन, आत्मविश्वास, साहस र नेतृत्व विकास गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने उहाँको भनाइ थियो।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले प्रदेशस्तरमा स्पोर्ट क्लाइम्बिङ प्रतियोगिता सञ्चालन गर्न आवश्यक सहयोग उपलब्ध गराइने तथा खेलको आधार विस्तार, प्रतिभा पहिचान र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि पूर्वाधार विकासमा प्रदेश सरकार सकारात्मक रहेको बताउनुभयो।
कार्यक्रममा संयुक्त राज्य अमेरिकाको दूतावास, काठमाडौंका सार्वजनिक मामिला प्रमुख माइक हार्करको पनि उपस्थिति रहेको थियो। नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनले उहाँलाई गत मे २० मा सगरमाथाको सफल आरोहण गरी पहिलो अमेरिकी दूतावासका कूटनीतिज्ञका रूपमा उक्त उपलब्धि हासिल गरेको सम्मानस्वरूप विशेष सम्मान प्रदान गरेको थियो।
प्रतियोगितामा लिड क्लाइम्बिङतर्फ २२ तथा टप रोप क्लाइम्बिङतर्फ ६५ गरी कुल ८७ खेलाडी सहभागी भएका थिए। प्रतियोगिता अन्तर्राष्ट्रिय स्पोर्ट क्लाइम्बिङ महासङ्घ (आईएफएससी) को मापदण्डअनुसार सञ्चालन गरिएको आयोजकले जनाएको छ।
लिड क्लाइम्बिङ पुरुषतर्फ साजन लामा प्रथम, सुलभ राई द्वितीय तथा तेन्जिन बर्टिन राई तृतीय भए। महिलातर्फ स्वस्तिका चौधरी प्रथम, मनिषा बुढा मगर द्वितीय र रबिका महर्जन तृतीय स्थान हासिल गरे।
यस्तै, टप रोप क्लाइम्बिङ पुरुषतर्फ नमल बोहोरा प्रथम, लाक्फा तेन्जिन शेर्पा द्वितीय तथा केमन क्षेत्री तृतीय भए। महिलातर्फ पेम्बा छोकी शेर्पा प्रथम, करुणा ठाकुर द्वितीय तथा नायुमी खनाल तृतीय स्थानमा रहे।
विजयी खेलाडीलाई नगद पुरस्कार, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार प्रतियोगिताले नेपालमा स्पोर्ट क्लाइम्बिङको विकास, नयाँ प्रतिभाको पहिचान तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगिता सफल बनाउन सरकारी निकाय, प्राविधिक टोली, निर्णायक, रुट सेटर, बेलायर, स्वयंसेवक, प्रायोजक तथा सहयोगी संस्थाहरूले सहयोग गरेका थिए।
समारोहमा आगामी वर्ष प्रतियोगितालाई अझ भव्य रूपमा आयोजना गर्ने तथा क्लाइम्बिङ खेललाई पर्यटन, पर्वतारोहण र युवा विकाससँग जोडेर अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्यलाई थप सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो।-

Comment