चार दिनको गिरावटपछि नेप्सेमा सुधार, कारोबार रकम ८ अर्ब ४१ करोड रुपैयाँ नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लगातार चार कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य सुधार देखिएको छ। बजारमा खरिदकर्ताको सक्रियता बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ।

मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इन्डेक्स ०.७९ अंक, फ्लोट इन्डेक्स ०.३२ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२० अंकले वृद्धि भएका छन्।

यस दिन ३८३ कम्पनीका १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर ५३ हजार ८५४ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सोमबार ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

कारोबार रकम बढाउन ऋणपत्र (डिबेञ्चर) हरूको उल्लेख्य योगदान देखिएको छ। कारोबार रकमका आधारमा शीर्ष १० मा परेका धितोपत्रमध्ये नौ वटा डिबेञ्चर रहेका छन्। सबैभन्दा बढी १० प्रतिशत केबीएल डिबेञ्चर २०९० को ५२ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, १० प्रतिशत एनआईएमबी डिबेञ्चर २०९० को ३९ करोड रुपैयाँभन्दा बढी, ७ प्रतिशत नेपाल एसबीआई डिबेञ्चर २०९० को ३७ करोड रुपैयाँभन्दा बढी तथा एभरेष्ट बैंक डिबेञ्चरको ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

मूल्य वृद्धितर्फ ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ सर्वाधिक १०.२२ प्रतिशतले बढेको छ। सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ करिब १० प्रतिशतले उकालो लाग्दा उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यता, ७ प्रतिशत नेपाल एसबीआई डिबेञ्चर २०९० को मूल्य सबैभन्दा बढी ९.६८ प्रतिशतले घटेको छ।

उपसमूहतर्फ १३ मध्ये १२ उपसमूह हरियालीमा बन्द भएका छन्। व्यापार उपसमूह सर्वाधिक १.४७ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह ०.१८ प्रतिशतले घट्दै एक्लो राताम्मे उपसमूह बनेको छ।

चार दिनको लगातार गिरावटपछि बजारमा आएको यस सुधारले लगानीकर्ताको मनोबल केही बलियो बनेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।