काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म औसत मुद्रास्फीति २.८९ प्रतिशतमा सीमित रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार मूल्यवृद्धि नियन्त्रणमा रहँदा अर्थतन्त्रमा स्थिरताको सकारात्मक संकेत देखिएको हो।
प्रतिवेदनअनुसार गत जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत रहेको छ। खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत तथा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत रहेको छ।
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल, घ्यू तथा तेल, माछा तथा मासु तथा तरकारीको मूल्य बढे पनि दाल तथा गेडागुडी उपसमूहको मूल्य सूचकाङ्क ०.९३ प्रतिशतले घटेको छ, जसले उपभोक्तालाई केही राहत दिएको छ।
गैरखाद्य तथा सेवा समूहमा विविध वस्तु तथा सेवा, यातायात, मदिराजन्य पेयपदार्थ, शिक्षा तथा कपडा–जुत्ताको मूल्यमा वृद्धि देखिएको छ। तथापि, समग्र औसत मुद्रास्फीति तीन प्रतिशतभन्दा कम रहनुले मूल्य स्थिरता कायम राख्न राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन प्रभावकारी रहेको संकेत गरेको छ।
क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रमा वार्षिक विन्दुगत मुद्रास्फीति ४.७८ प्रतिशत तथा सहरी क्षेत्रमा ५.३८ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी ५.७५ प्रतिशत मुद्रास्फीति देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा ४.६१ प्रतिशत रहेको छ।
काठमाडौँ उपत्यकामा वार्षिक विन्दुगत मुद्रास्फीति ४.९८ प्रतिशत रहेको छ। भौगोलिक क्षेत्रअनुसार तराईमा ५.७४ प्रतिशत, पहाडमा ५.०७ प्रतिशत तथा हिमाली क्षेत्रमा ३.७१ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैंकले जनाएको छ।
अर्थविद्हरूका अनुसार औसत मुद्रास्फीति २.८९ प्रतिशतमा सीमित रहनु उपभोक्ता तथा व्यवसाय दुवैका लागि सकारात्मक पक्ष हो। यसले क्रयशक्ति संरक्षण, लगानी वातावरण सुधार तथा समग्र आर्थिक स्थिरतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Comment