नवनियुक्त अध्यक्ष भट्टले भनेः लगानीकर्ताको हित र आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी काम गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपाल भट्ट ले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्ले ले भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। सरकारको असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। अर्थमन्त्री वाग्ले पार्टीको महाधिवेशनमा व्यस्त रहेकाले शपथ कार्यक्रम केही ढिलो भएको थियो।

शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितलाई प्राथमिकतामा राखेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिए। उनले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा प्रभावमा नपरी जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।

वाग्लेले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको र एक वर्षको कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन्। साथै, बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना हुने अवस्था अन्त्य गर्न प्रभावकारी भूमिका खेल्न पनि उनले आग्रह गरे।

उनले मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप नहुने स्पष्ट पार्दै धेरै बोलेर होइन, कामको नतिजाबाट आफूलाई प्रमाणित गर्न अध्यक्ष भट्टलाई सुझाव दिए। साथै, बजारको अवस्थाबारे हरेक हप्ता मन्त्रालयलाई जानकारी गराउन पनि निर्देशन दिए।

कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजनाअनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो ज्ञान, अनुभव र सिपलाई लगानीकर्ताको हित तथा सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न प्रयोग गर्ने बताए।

भट्टले पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन तथा सिफारिसहरू कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने पनि बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।