काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ मूल्य बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल विदेशबाट आयात भएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब ९४ करोड २८ लाख रुपैयाँ बराबरको ७ लाख ५३ हजार ३ सय ५ टन धानचामल आयात भएको थियो। यस आधारमा चालु वर्ष धानचामल आयातको परिमाण र मूल्य दुवैमा सामान्य गिरावट देखिएको छ।
तथ्यांकअनुसार कच्चा धान आयात उल्लेख्य रूपमा घटेको छ। गत वर्ष ११ महिनामा १९ अर्ब ९९ करोड ९ लाख रुपैयाँ बराबरको ५ लाख २१ हजार २ सय ६९ टन कच्चा धान आयात भएको थियो। चालु वर्ष भने यो परिमाण घटेर ४ लाख ६१ हजार १ सय ८ टन मा सीमित भएको छ, जसका लागि १७ अर्ब २३ करोड ७२ लाख रुपैयाँ खर्च भएको छ।
यद्यपि, कच्चा धान आयात घटे पनि धानको बिउ आयात बढेको छ। गत वर्ष १ अर्ब १६ करोड ६२ लाख रुपैयाँ बराबरको २ हजार ५ सय ७० टन धानको बिउ आयात भएकोमा यस वर्ष १ अर्ब २९ करोड ९४ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ९३ टन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।
यसैबीच, तयारी चामलको आयात भने निरन्तर बढिरहेको देखिएको छ। बासमती चामल आयात गत वर्षको ७ अर्ब २६ करोड ८४ लाख रुपैयाँ बाट बढेर चालु वर्ष ७ अर्ब ८६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। परिमाणका हिसाबले पनि आयात ६६ हजार ३ सय ९७ टनबाट ६७ हजार ६ सय ६७ टन पुगेको छ।
त्यस्तै, सामान्य चामलको आयात पनि बढेको छ। अघिल्लो वर्ष १० अर्ब २३ करोड ५९ लाख रुपैयाँ बराबरको १ लाख ५६ हजार २ सय ६१ टन चामल आयात भएकोमा चालु वर्ष ११ अर्ब ८ करोड ८४ लाख रुपैयाँ बराबरको १ लाख ७१ हजार ५४ टन पुगेको छ।
कनिका र ब्राउन राइसको आयातमा पनि वृद्धि देखिएको छ। गत वर्ष २८ करोड ५ लाख रुपैयाँ बराबरको ६ हजार ८ सय २ टन कनिका आयात भएकोमा चालु वर्ष ३५ करोड १ लाख रुपैयाँ बराबरको ८ हजार ६ सय ८९ टन आयात भएको छ। ब्राउन राइसको आयात पनि ४.३५ टनबाट बढेर ७.०७ टन पुगेको छ।
तथ्यांकले नेपालमा कच्चा धान आयात घट्दै गए पनि विदेशबाटै तयारी चामल खरिद गर्ने प्रवृत्ति बढ्दै गएको संकेत गरेको छ। यसले स्वदेशी धान प्रशोधन उद्योगको उपयोगिता, कृषि उत्पादनको प्रतिस्पर्धात्मकता तथा खाद्य आत्मनिर्भरतामाथि नयाँ प्रश्न खडा गरेको विज्ञहरूको भनाइ छ।
यता, धानचामल आयातबाट उठ्ने राजस्व पनि घटेको छ। गत आर्थिक वर्षको ११ महिनामा सरकारले ३ अर्ब ५३ करोड ६१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालु वर्ष सोही अवधिमा यस्तो राजस्व २ अर्ब ६१ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ।
धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिइरहेका बेला तयारी चामलको बढ्दो आयातले कृषि तथा खाद्य सुरक्षासम्बन्धी नीतिको प्रभावकारितामाथि समेत बहस सुरु गराएको छ।

Comment