काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको वस्तु आयात झन्डै १९ खर्ब रुपैयाँ पुगेको छ। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो।
विभागका अनुसार सोही अवधिमा नेपालबाट २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँभन्दा बढीको वस्तु निर्यात भएको छ। निर्यातमा पनि वृद्धि देखिए पनि यसको दर १२.२८ प्रतिशत मात्र रहेको छ। आयातको वृद्धि निर्यातको तुलनामा उच्च रहेकाले देशको वैदेशिक व्यापार घाटा १५.६७ प्रतिशतले बढेको छ।
तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। ११ महिनामा १ खर्ब ५२ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको डिजेल आयात भएको विभागले जनाएको छ। यस्तै, ६८ अर्ब १७ करोड रुपैयाँबराबरको ६ लाख ८५ हजार किलोलिटर पेट्रोल विदेशबाट भित्रिएको छ।
आयाततर्फ सोयाबिन तेल तथा त्यसको कच्चा पदार्थ पनि प्रमुख वस्तुका रूपमा रहेको छ। यस अवधिमा १ खर्ब १९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सोयाबिन तेल र कच्चा पदार्थ आयात भएको छ। तर यही वस्तु नेपालबाट निर्यात हुने प्रमुख सूचीमा समेत परेको छ। विभागका अनुसार नेपालले १ खर्ब १३ अर्ब रुपैयाँबराबरको सोयाबिन तेल तथा कच्चा पदार्थ विदेश निर्यात गरेको छ।
निर्याततर्फ अलैँची प्रमुख वस्तुका रूपमा देखिएको छ। ११ महिनामा १२ अर्ब १ करोड रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ।
अन्य प्रमुख आयातित वस्तुहरूमा ५३ अर्ब ६९ करोड रुपैयाँको स्पन्ज आइरन, ५२ अर्ब २१ करोड रुपैयाँको एलपी ग्यास तथा ४३ अर्ब ४५ करोड रुपैयाँबराबरका २० लाखभन्दा बढी स्मार्टफोन रहेका छन्।
आयात र निर्यात दुवैमा वृद्धि भए पनि आयातको हिस्सा उल्लेख्य रूपमा बढ्दा नेपालको व्यापार घाटा अझ विस्तार भएको देखिएको छ।

Comment