काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि पनि निक्षेप (डिपोजिट) मा दिने ब्याजदर घटाएका छन् । कर्जाको तुलनामा निक्षेप वृद्धि दर लगातार उच्च रहँदा बैंकिङ प्रणालीमा अधिक तरलता (अधिक नगद मौज्दात) देखिएपछि कोष लागत घटाउने उद्देश्यले बैंकहरूले ब्याजदर समायोजन गरेका हुन् ।
बैंकिङ क्षेत्रका अनुसार निक्षेप निरन्तर बढ्दै गए पनि सो अनुपातमा कर्जा प्रवाह नबढ्दा बैंकहरूमा ठूलो मात्रामा तरलता थुप्रिएको छ । यही कारण बैंकहरूले नेपाल राष्ट्र बैंकमा अर्बौं रुपैयाँ निष्क्रिय रूपमा राख्नुपर्ने अवस्था आएको छ ।
असार महिनाका लागि २० वाणिज्य बैंकमध्ये ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले यथावत राखेका छन् । कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।
औसत रूपमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर जेठमा ४.३४ प्रतिशत रहेकोमा असारमा घटेर ४.२७ प्रतिशतमा झरेको छ ।
ब्याजदर घटाउने बैंकहरूमा एनएमबि बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, हिमालयन बैंक, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् ।
यीमध्ये केही बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ प्रतिशतभन्दा तल झारेका छन् । कुमारी बैंकले ३.९१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.९५ प्रतिशत ब्याजदर तोकेका छन् । हिमालयन, एनआईसी एसिया, लक्ष्मी सनराइज र प्राइम कमर्सियल बैंकले पनि करिब ४ प्रतिशत हाराहारीमा ब्याजदर कायम गरेका छन् ।
नेपाल राष्ट्र बैंक ले बचत खाताको न्यूनतम ब्याजदर २.७५ प्रतिशतमा सीमित गरेको छ । यही कारण बैंकहरूले बचत खाताको ब्याजदर थप घटाउन नसक्ने अवस्था छ ।
यसका कारण बैंकहरूले लागत घटाउन मुख्य रूपमा मुद्दती निक्षेपको ब्याजदरमा समायोजन गरिरहेका छन् ।
बैंकिङ प्रणालीमा निक्षेप लगातार बढिरहेको भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार नबढ्दा अधिक तरलता कायम भएको छ । यही कारण नेपाल राष्ट्र बैंकले बजारबाट तरलता खिच्ने कार्य निरन्तर गर्दै आएको छ ।
विश्लेषकहरूका अनुसार तरलता बढी भएपछि बैंकहरूले निक्षेपको ब्याजदर अझै घटाउने सम्भावना रहन सक्छ ।


Comment