होल्डिङ सेन्टरका सुकुम्वासी भेषबहादुरको सरकारी बेवास्ताको कारण मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंका नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रममा विस्थापित भएर कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा बिहीबार मृत्यु भएको छ।

लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका दर्जी सोमबार साँझ अचानक बेहोस भएपछि वीर अस्पताल लगिएका थिए। अस्पताल भर्ना भएको तीन दिनपछि बिहीबार दिउँसो करिब साढे २ बजे आईसीयूमै उनको निधन भएको हो।

दर्जी विगत पाँच वर्षदेखि फोक्सोमा पानी जम्ने समस्याबाट पीडित थिए। गत वैशाखमा काठमाडौं महानगरपालिकाले नदी किनारका अव्यवस्थित बस्ती हटाउने क्रममा गैरीगाउँस्थित उनी बस्दै आएको सुकुम्बासी बस्तीमा पनि डोजर चलाएको थियो। त्यसपछि उनलाई श्रीमती र दुई वर्षीय छोरासहित कीर्तिपुरको राधास्वामी सत्संग आश्रमस्थित होल्डिङ सेन्टरमा सारिएको थियो।

होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीका अनुसार सोमबार साँझ दर्जी अचानक बेहोस भएपछि एम्बुलेन्सको व्यवस्था गर्न घण्टौँसम्म आग्रह गर्नुपरेको थियो। ढिलो गरी एम्बुलेन्समार्फत वीर अस्पताल पुर्‍याइए पनि उनी होसमा फर्किन सकेनन्। अन्ततः उपचारकै क्रममा उनको मृत्यु भयो।

दर्जीले होल्डिङ सेन्टरमा रहँदा आफू बिरामी हुँदाहुँदै परिवारका लागि केही गर्न नसकेको पीडा व्यक्त गरेका थिए। उनले सरकारबाट उपचार र सहज बसोबासको आश्वासन पाएको भए पनि त्यसको कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए। होल्डिङ सेन्टरमा रहेका अशक्त र बिरामी व्यक्तिहरूलाई प्राथमिकताका साथ अन्यत्र सार्ने तथा उपचारको व्यवस्था गर्ने प्रतिबद्धता सरकारी निकायबाट आए पनि दर्जीले त्यसको लाभ पाउन सकेनन्।

झापाबाट उपचारका लागि काठमाडौं आएका दर्जीको स्वास्थ्य अवस्था पछिल्ला वर्षहरूमा लगातार बिग्रँदै गएको थियो। सुरुमा पेट दुख्ने समस्याका कारण उपचार गराउँदा फोक्सोमा पानी जमेको पत्ता लागेको थियो। चिकित्सकले नियमित रूपमा उपचार र पानी निकाल्नुपर्ने सुझाव दिए पनि आर्थिक अभावका कारण उनले उपचारलाई निरन्तरता दिन सकेनन्। एकपटक उपचारमा ५० देखि ६० हजार रुपैयाँसम्म खर्च लाग्ने भएपछि उनले तीन वर्षअघि नै उपचार गर्न छोडेका थिए।

शारीरिक रूपमा कमजोर बन्दै गएपछि उनी ह्विलचेयरको सहारामा हिँडडुल गर्न बाध्य भएका थिए। परिवारको मुख्य आम्दानीको स्रोत समेत गुमेपछि घरको सम्पूर्ण जिम्मेवारी उनकी श्रीमती विमला दर्जीमाथि आएको थियो। उनी काठमाडौंको मैतीदेवी क्षेत्रमा घर–घरमा काम गरेर परिवार चलाउँदै आएकी थिइन्। तर बस्ती हटाइएपछि होल्डिङ सेन्टरमा बस्न थालेसँगै उनको रोजगारी पनि रोकिएको थियो।

भेषबहादुर दर्जी, उनकी श्रीमती विमला र दुई वर्षीय छोरा वैशाख १२ गतेपछि होल्डिङ सेन्टरमा बस्दै आएका थिए। विस्थापन, बेरोजगारी, आर्थिक अभाव र उपचार नपाएको अवस्थामै उनको स्वास्थ्य झन् बिग्रँदै गएको थियो। अन्ततः उपचार र पुनर्स्थापनाको प्रतीक्षामै उनले जीवन गुमाएका छन्।

दर्जीको मृत्युले होल्डिङ सेन्टरमा बस्दै आएका अशक्त, बिरामी र विस्थापित परिवारहरूको स्वास्थ्य तथा पुनर्स्थापनाको अवस्थाप्रति पुनः प्रश्न उठाएको छ। उनका परिवारजन र सँगै बस्दै आएका अन्य सुकुम्बासीहरूले सरकारसँग राहत, उपचार र सुरक्षित आवासको व्यवस्था गर्न माग गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।