साफ महिला च्याम्पियनसिप: नेपालकाे सेमिफाइनल प्रतिद्वन्द्वी बंगलादेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नियमित कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बालाई आराम दिएको खेलमा नेपालले जित निकाल्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ।

गोवामा आइतबार भएको समूह ‘ए’ को दोस्रो तथा निर्णायक खेलमा नेपालले श्रीलंकामाथि २–० को जित निकाल्यो। यो जितसँगै तीन राष्ट्र रहेको समूहमा नेपाल विजेता बन्यो। नेपालले अब सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता बंगलादेशसँग आगामी जुन ३ तारिखमा खेल्नेछ। आइतबार नै भएको खेलमा भारतले बंगलादेशमाथि २–० को जितसँगै समूहविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको हो। माल्दिभ्समाथि जित निकालेको साबिक विजेता बंगलादेश भने उपविजेता बन्यो। नेपाल र श्रीलंका दुवै टोलीलाई सेमिफाइनलमा पुग्न जितको विकल्प थिएन। ७६१ दर्शकको साथ पाएको जवहारलाल नेरु स्टेडियममा नेपाली टोलीले बाजी मार्‍यो।

नेपालको जितमा रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटेले गोल गरे। दुवै हाफमा समान एक गोल भयो। नेपाली टोलीका प्रशिक्षक नवीन न्यौपानेले रेनुकालाई कप्तानी जिम्मेवारी सुम्पिए। उनले आफ्नो कप्तानीमा गोलसमेत गर्दै जित पनि दिलाइन्। प्रशिक्षक न्यौपानेले पहिलो खेलमा भुटानविरुद्ध खेलेका चार खेलाडीलाई बाहिर राखेका छन्। उनले गोलकिपर तथा कप्तान अन्जिलासँगै पूजा राना, अनिता बस्नेत र अनिता लम्जेललाई बाहिर राखे । गोलकिपर अञ्जना रानामगरसँगै मीना देउवा, सरु लिम्बू र प्रतीक्षा चौधरीले अवसर पाएका हुन्। प्रशिक्षक न्यौपानेको योजना सही पनि भयो।

नेपाली महिला फुटबल टोलीकी सबैभन्दा अनुभवी खेलाडी रेनुकाले प्रशिक्षकको योजनामा साथ पनि दिइन्। कप्तान तथा स्टार फरवार्ड सावित्रा भण्डारी, सविता रानामगर र प्रीति राईजस्ता खेलाडीको अभाव तुलनात्मक कमजोर मानिएको श्रीलंकाविरुद्ध भने खड्किएन। सावित्रा र सविता चोटका कारण मैदानबाहिर छन् भने प्रीति कम्बोडियामा व्यावसायिक लिगमा व्यस्त छिन्। प्रशिक्षक न्यौपानले सावित्राको अनुपस्थितिमा पूर्वकप्तान अन्जिलालाई नै नेतृत्व जिम्मेवारी दिएका थिए। भुटानविरुद्ध गल्तीका कारण प्रशिक्षक न्यौपानेले उनलाई दोहोर्‍याउन चाहेनन्। उनको स्थानमा अनुभवी रेनुकाले कप्तानी जिम्मेवारी पाएकी हुन् । कमजोर मानिए पनि श्रीलंकाले लामो समयसम्म नेपाललाई रोक्न सफल भयो।

पहिलो हाफको थप समयमा मात्र नेपाली टोलीले गोल गर्‍यो। रश्मिकुमारीको गोलबाट नेपालले अग्रता लियो। यो गोलसँगै पहिलो हाफमा नेपाल १–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि नेपाली टोलीले गोल गर्‍यो। कप्तान रेनुकाले नै ६०औं मिनेटमा गोल गर्दै नेपाललाई २–० ले अगाडि बढाइन्। मिडफिल्डर रेनुकाले २२ यार्डबाट गरेको चिप प्रहार गोलमा परिणत भएको हो । नेपाली टोलीका लागि ६२औं खेल खेल्ने क्रममा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी हुन् । कप्तानी जिम्मेवारीमा गोलसँगै जित दिलाउनु उनका लागि अर्को सुखद पक्ष रह्यो । जितपछि नेपालका प्रशिक्षक न्यौपानेले पहिलो खेलमा भन्दा सुधारिएको प्रदर्शन गर्न सकेको बताए।

‘हामीले पहिलो खेलमा भन्दा राम्रो खेल्यौं। स्ट्राइकरले गोल गर्न सक्नु सकारात्मक पक्ष रह्यो। आज खेल जित्यौं। अब आगामी सेमिफाइनल खेलमा ध्यान दिनेछौं। उपाधि जित्न यो खेल जित्नुको विकल्प छैन,’ न्यौपानेले भने,‘पहिलो हाफमा भन्दा दोस्रो हाफमा धेरै अवसर पायौं । खेलाडीहरूले राम्रो टिम खेल खेले। सेमिफाइनलमा कम अवसर पाउनेछौं। त्यसमा सदुपयोग गर्नुको विकल्प हामीसँग हुने छैन।’

उनले सेमिफाइनलको खेलमा प्रीति राई पनि आउने बताएका छन्। रेनुकाले पहिलो अन्तर्राष्ट्रिय गोल गर्दा धेरै खुसी रहेको प्रशिक्षक न्यौपानेले बताए। समूह ‘ए’ को पहिलो खेलमा नेपालले भुटानसँग १–० को जित निकालेको थियो। नेपाल शतप्रतिशत जितसँगै समूह विजेता बन्दा भुटान एक जितबाट नै सेमिफाइनलमा पुग्न सफल भयो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।