सरकारले ल्यायो २१ खर्ब २४ अर्बको बजेट, १४ खर्ब राजस्व लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त आकारको वार्षिक आय–व्यय विवरण सार्वजनिक गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी आवको बजेट चालु वर्षको तुलनामा वृद्धि गरिएको हो ।

आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ छुट्याइएको थियो ।

त्यस्तै, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

वित्तीय व्यवस्थातर्फ सरकारले ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस शीर्षकमा ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ छुट्याइएको थियो ।

सरकारले आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । साथै, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री वाग्लेले अपुग हुने ६ खर्ब ५७ अर्ब २९ करोड रुपैयाँ ऋणमार्फत जुटाइने जानकारी दिए । जसमध्ये २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋणबाट तथा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने उनले बताए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।