आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सुशासनको मानक बन्ने बताएका छन् ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले नीति, कानून, संस्था, प्रक्रिया र नेतृत्वमा सुधार गर्दै सुशासन कायम गर्ने दिशामा बजेट केन्द्रित रहेको बताए ।

‘नीतिगत अनिर्णय, ढिलासुस्ती, संस्थागत कब्जा तथा राज्य स्रोतको दोहन अन्त्य गर्दै परिणाममुखी शासन प्रणाली निर्माण गर्नु अहिलेको आवश्यकता हो,’ अर्थमन्त्री वाग्लेले भने ।

उनले मुलुक अहिले वृहत् आर्थिक सुधारको निर्णायक मोडमा रहेको उल्लेख गर्दै आगामी बजेट उत्पादनमुखी अर्थतन्त्र, सुशासन तथा प्रविधिमैत्री विकासमा केन्द्रित रहेको बताए ।

अर्थमन्त्री वाग्लेका अनुसार वर्तमान सरकारले प्राप्त जनादेशलाई असाधारण जिम्मेवारीका रूपमा लिएको छ । राज्यको चरित्र, शासकीय संस्कार तथा अर्थतन्त्रको स्वरूप रूपान्तरण गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको उनले बताए ।

उनले बजेटलाई केवल संवैधानिक औपचारिकता नभई नीतिगत रूपान्तरणको विश्वसनीय दस्तावेजका रूपमा प्रस्तुत गरिएको उल्लेख गरे ।

बजेटमा सूचना तथा सञ्चार, कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार, लगानी तथा विश्वभर रहेका नेपाली समुदायको सामूहिक सामर्थ्यलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा समेटिएको उनले बताए । नयाँ प्रविधिको उपयोगमार्फत समन्वित आर्थिक वृद्धिको नयाँ संरचना निर्माण गर्ने लक्ष्य सरकारले लिएको उनको भनाइ छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।