काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिमा ‘हामी नेपाल’ संस्थाका अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङको संलग्नता देखिएको निष्कर्ष निकालेको छ।
आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सुरुआतमा शान्तिपूर्ण रहेको आन्दोलन पछि हिंसात्मक बन्नुमा गुरुङ नेतृत्वको समूहको भूमिका रहेको उल्लेख गरिएको छ। प्रतिवेदनको ‘तथ्य र विश्लेषण’ खण्डअन्तर्गत प्रकरण ६ र ७ मा आन्दोलनको क्रम, भीडको विस्तार र त्यसपछिका घटनाक्रमलाई विस्तृत रूपमा विश्लेषण गरिएको छ।
प्रतिवेदनअनुसार २३ भदौ बिहान करिब १०ः३० बजे तीन हजारदेखि ३२ सय प्रदर्शनकारी भेला भएका थिए। प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले तोकेको सीमाभित्र सुरु भएको र्याली केही समयमै निषेधित क्षेत्रतर्फ अघि बढेको थियो। आयोगले उक्त र्यालीलाई निषेधित क्षेत्रतर्फ लैजाने नेतृत्व सुधन गुरुङले गरेको उल्लेख गरेको छ।
बबरमहल र बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वरस्थित एभरेस्ट होटलअगाडि पुग्दासम्म प्रदर्शनकारीको संख्या बढेर २० देखि २५ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ। त्यही समयमा कालो टि–सर्ट लगाएका तथा शरीरमा ‘टीओबी’ लेखिएको ट्याटु खोपेका १५ देखि २० जनाको बाइकर समूह घटनास्थलमा पुगेको र उक्त समूहले भिडलाई थप उत्तेजित बनाएको आयोगको निष्कर्ष छ।
प्रतिवेदनमा भनिएको छ, “प्रमुख जिल्ला अधिकारीले प्रदान गरेको अनुमतिको परिधिभित्र सुरु गरिएको र्याली केही समयभित्र नै सो परिधि र क्षेत्र नाघी बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वरस्थित एभरेस्ट होटलअगाडि आइपुगेको, तत्पश्चात प्रदर्शनकारीहरूको संख्या बढेर २०/२५ हजार पुगेको देखिन्छ। सोही समयमा टीओबी लेखिएका कालो टि–सर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर समूह आएर भिडलाई अगाडि बढ्न उत्तेजित बनाएको देखिन्छ।”
आयोगका अनुसार एभरेस्ट होटलअगाडि ठूलो भिड जम्मा भएपछि करिब दिउँसो १२ बजेतिर गुरुङले आन्दोलनको नेतृत्व लिएका थिए। त्यसपछि प्रदर्शनकारीहरू आक्रोशित बन्दै सुरक्षा ब्यारिकेड तोडेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेका थिए। यही क्रममा सुरक्षाकर्मीसँग झडप भई आन्दोलन हिंसात्मक बनेको प्रतिवेदनमा उल्लेख छ।
आन्दोलन हिंसात्मक बनेपछि सुरक्षाकर्मीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए। त्यसपछि आक्रोशित भीडले बीआईसीसीको गेट नम्बर १ अगाडि ढुंगामुढा गर्नुका साथै एपीएफको वाटर क्याननमा तोडफोड गरेको आयोगले जनाएको छ।

Comment