काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ अर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरेको छ। अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता तथा बाह्य द्वन्द्वका प्रभावबीच नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने प्रक्षेपण गरिएको हो। गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो।
आर्थिक सर्वेक्षणले नेपाली अर्थतन्त्रको मुख्य विशेषताका रूपमा उच्च उपभोगलाई औंल्याएको छ। कुल गार्हस्थ उत्पादन (जीडीपी) मा उपभोगको हिस्सा ९०.३ प्रतिशत रहने अनुमान गरिएको छ। कुल उपभोगमध्ये निजी क्षेत्रको योगदान सबैभन्दा बढी ९१.२६ प्रतिशत रहेको छ भने सरकारी क्षेत्रको हिस्सा ६.६२ प्रतिशत र गैरसरकारी क्षेत्रको योगदान २.१२ प्रतिशत मात्र रहने देखिएको छ।
जीडीपीको संरचनामा सेवा क्षेत्रको प्रभाव निरन्तर बढ्दै गएको सर्वेक्षणमा उल्लेख छ। हाल सेवा क्षेत्रले कुल गार्हस्थ उत्पादनमा ६१.८१ प्रतिशत हिस्सा ओगटेको छ भने कृषि क्षेत्रको योगदान २४ प्रतिशतमा सीमित भएको छ।
प्रदेशगत आधारमा बागमती प्रदेशले कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी ३६.७ प्रतिशत योगदान दिएको छ। त्यसपछि अन्य प्रदेशहरूको योगदान रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.२ प्रतिशत मात्र रहेको आर्थिक सर्वेक्षणले देखाएको छ।
चालु आर्थिक वर्षमा नेपालीहरूको औसत प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ५ सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। त्यस्तै प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर तथा खर्चयोग्य आय २ हजार ४४ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।
प्रादेशिक तुलना गर्दा प्रतिव्यक्ति आयमा उल्लेखनीय असमानता देखिएको छ। बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने मधेश प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा कम ९ सय ३४ अमेरिकी डलर मात्र रहने आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।

Comment