एभरेष्ट कलरको आईपीओमा जेठ २२ गतेदेखि सर्वसाधारणले आवेदन दिन सक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । एभरेष्ट कलर लिमिटेड ले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर हुने ७ करोड ९० लाख रुपैयाँ मूल्यको ७ लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो।

कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात् ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन बाँडफाँट सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। साथै, ३९ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरी बाँडफाँट गरिसकिएको छ।

अब कम्पनीले दोस्रो चरणअन्तर्गत प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गर्नेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म सम्पूर्ण सेयरका लागि आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग्स नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने जनाएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेड ले सम्हालेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।