काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा समग्रमा ५.७ प्रतिशत मात्रै बढेको छ।
गत आर्थिक वर्षको असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको हो। यससँगै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जा रकम ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
क्षेत्रगत रूपमा हेर्दा ट्रस्ट रिसिप्ट (टीआर) अर्थात् आयात प्रकृतिको क्षेत्रमा सबैभन्दा उच्च दरले कर्जा वृद्धि भएको देखिएको छ। ट्रस्ट रिसिप्ट लोन भनेको आयातकर्तालाई सामान बिक्री नभएसम्मका लागि बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने अल्पकालीन कर्जा हो।
तथ्यांकअनुसार असार मसान्तको तुलनामा चैत मसान्तसम्म यस्तो कर्जा ३२ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म यस्तो कर्जा १ खर्ब २५ अर्ब १८ करोड रुपैयाँ रहेको थियो। समग्र आयात वृद्धि भएसँगै यस्तो कर्जामा पनि उल्लेख्य वृद्धि भएको हो।
यता घरजग्गा क्षेत्रमा प्रवाह भएको कर्जाको वृद्धि भने ऋणात्मक देखिएको छ। नेपाल राष्ट्र बैंक को तथ्यांकअनुसार गत असार मसान्तको तुलनामा चैत मसान्तसम्म आइपुग्दा रियल इस्टेट कर्जा ३.५ प्रतिशतले घटेको हो।
चैत मसान्तसम्म घरजग्गा क्षेत्रमा प्रवाह भएको कुल कर्जा २ खर्ब ६६ अर्ब ३७ करोड रुपैयाँ रहेको छ। जबकि गत असार मसान्तसम्म यस्तो कर्जा २ खर्ब ७५ अर्ब ९५ करोड रुपैयाँ थियो।
यद्यपि ३ करोड रुपैयाँसम्मको आवासीय घरकर्जा भने बढेको देखिएको छ। चैत मसान्तसम्म यस्तो कर्जा ४ खर्ब ५८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ भने गत असार मसान्तसम्म ४ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।
पछिल्लो समय घरजग्गा कारोबार र मूल्यमा आएको प्रभावका कारण रियल इस्टेट क्षेत्रको कर्जा घटेको विश्लेषण गरिएको छ। तर आवासीय घरकर्जाको सीमा विस्तार गरिएकाले व्यक्तिगत आवासीय कर्जा भने बढेको देखिएको हो। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घरकर्जाको सीमा २ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको थियो।

Comment