विदेशी मुद्रा सञ्चिति ३५ खर्ब नजिक, १८.४ महिनाको आयात धान्न पर्याप्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विदेशी मुद्रा सञ्चिति ३५ खर्ब रुपैयाँ नजिक पुगेको छ । गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चालु आर्थिक वर्ष ९ महिना (चैत मसान्त) सम्म ३०.५ प्रतिशत बढेर ३४ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा असार मसान्तसम्म १९ अर्ब ५० करोड बराबर रहेको सञ्चिति चैत मसान्तसम्म २०.८ प्रतिशत बढेर २३ अर्ब ५५ करोड पुगेको छ । उक्त सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा चैतसम्म २७.७ प्रतिशत वृद्धि भई ३० खर्ब ८२ अर्ब पुगेको छ ।

अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति असार मसान्तसम्म २ खर्ब ६३ अर्ब रहेकोमा ५६.८ प्रतिशतले वृद्धि भई ४ खर्ब १२ अर्ब ३२ करोड पुगेको छ । ९ महिनासम्मको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपात ५७.२ प्रतिशत बराबर छ । असार मसान्तमा यस्तो अनुपात ४३.८ प्रतिशत थियो ।

९ महिनामा कुल वस्तु निर्यात २ खर्ब २२ अर्ब ९४ करोड र कुल आयात १४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।