काठमाडौं । पटकपटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको लाइसेन्स निलम्बन गर्न उपत्यका ट्राफिक प्रहरीले यातायात व्यवस्था कार्यालयमा पत्राचार गरेको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी ले एउटै कसुरमा पाँच पटकभन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको जानकारी दिए ।
उनका अनुसार ट्राफिक नियमको निरन्तर उल्लंघनले सडक सुरक्षा जोखिम बढाएको भन्दै कडा निगरानी र कारबाहीलाई तीव्र बनाइएको हो । विशेषगरी मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लेन मिच्ने, अत्यधिक गति तथा ट्राफिक संकेत उल्लंघन गर्ने चालकलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच, सार्वजनिक यातायातमा सीसीटीभी क्यामेरा जडानलाई पनि अनिवार्य गरिएको छ । यात्रुको सुरक्षा, दुर्घटना नियन्त्रण तथा आपराधिक गतिविधि निगरानीका लागि सार्वजनिक सवारीमा सीसीटीभी प्रणाली लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले नियम उल्लंघन नगर्न तथा सुरक्षित सवारी सञ्चालन गर्न सबै चालकलाई आग्रह गरेको छ ।

Comment