काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा ले निजी क्षेत्र एकजुट भएर अघि बढे सरकार व्यवसायीका माग सम्बोधन गर्न र सहकार्य गर्न बाध्य हुने बताएकी छन्।
महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिने क्रममा उनले निजी क्षेत्रको एकता नै वास्तविक शक्ति भएको उल्लेख गरिन्।
नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै राणाले यसपटकको कार्यसमितिमा पहिलोपटक ६ जना महिला निर्वाचित हुनु र नयाँ–पुराना सदस्यबीच सन्तुलन हुनु सकारात्मक संकेत भएको बताइन्।
उनले विगतका कार्यकालमा जनयुद्ध, महाभूकम्प, संविधान निर्माण र कोभिड–१९ जस्ता चुनौतीहरू सामना गर्नुपरेको स्मरण गर्दै वर्तमान नेतृत्वसमक्ष आर्थिक संकट र बदलिँदो राजनीतिक परिवेश मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गरिन्।
राणाले महासंघभित्र राजनीतिक खिचातानीभन्दा आर्थिक मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिइन्। सरकारले अघि सारेको आर्थिक वृद्धि र प्रतिव्यक्ति आम्दानी बढाउने लक्ष्य निजी क्षेत्रको सक्रिय सहभागिता बिना सम्भव नहुने उनको भनाइ थियो।
उनले भनिन्, “यदि हामी आर्थिक एजेन्डामा एकजुट भयौँ भने सरकार हाम्रा अगाडि सहकार्य गर्न बाध्य हुन्छ।”
साथै, ७७ वटै जिल्ला, नगर, वस्तुगत तथा एसोसिएट सदस्यहरूको शक्तिलाई परिचालन गर्दै महासंघले सरकारलाई दबाब र सहकार्य दुवै दिन सक्ने उल्लेख गरिन्। अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको ६ बुँदे कार्ययोजनाको प्रशंसा गर्दै राणाले आवश्यक परेमा पूर्वअध्यक्षहरूको तर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरिन्।

Comment