काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य पूरा गर्न निजी क्षेत्रको सक्रिय साथ अपरिहार्य रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकार निजी क्षेत्रमैत्री नीति निर्माणतर्फ अघि बढिसकेको जानकारी दिए।
मन्त्रिपरिषद्ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव पारित गरिसकेको उल्लेख गर्दै वाग्लेले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि ठोस रणनीति ल्याउने तयारी रहेको बताए। “हामीले झन्डै १०० अर्ब डलरको अर्थतन्त्रको परिकल्पना गरेका छौँ, यो लक्ष्य निजी क्षेत्रको साथ बिना सम्भव छैन,” उनले भने।
उनका अनुसार उक्त लक्ष्य हासिल गर्न करिब सात वर्ष लाग्न सक्नेछ। आर्थिक विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका निर्णायक हुने उल्लेख गर्दै उनले अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउन निजी क्षेत्रलाई प्रमुख साझेदारका रूपमा अघि बढाइने बताए।
अर्थमन्त्री वाग्लेले रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउँदै सरकार–निजी क्षेत्र सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिए। लगानीमैत्री वातावरण, सहज नियम प्रक्रिया र नीतिगत स्थायित्वमार्फत निजी क्षेत्रलाई प्रोत्साहन गरिने उनको भनाइ छ।
सरकारले ल्याउन लागेको ‘निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति’ मार्फत उद्योग, व्यापार र लगानी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखिएको छ। उक्त रणनीतिले दीर्घकालीन आर्थिक वृद्धि र स्थायित्वमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

Comment