काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ ।
ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
साथै, ग्राहकले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।
निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बैंकको भनाइ छ ।
उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण ई–टीडीएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ ।
जसले गर्दा ग्राहक महानुभावहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले जनाएको छ ।
ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस पछि ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने समेत बैंकले जनाएको छ ।
बैंकले ग्राहकलाई आफ्नो खातामा ईमेल ठेगाना समेत अद्यावधिक गर्न अनुरोध गरेको छ ।
ग्राहकको आफ्नो खातामा बैंकको भिडियो केवाईसी वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘माई प्रोफाइल’मा ट्याप गरी ‘चेन्ज इमेल अप्शन’ छनौट गरी आफ्नो ईमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ ।
ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकले जनाएको छ ।

Comment