काठमाडौं। यति ब्रुअरी लिमिटेड र नेपाल चिया विकास निगम लिमिटेडले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने तयारी गरेका छन्। यसका लागि दुवै कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) सँग सम्झौता गरेका हुन्।
यति ब्रुअरीले २०८१ कार्तिक ५ गते नेप्सेसँग सम्झौता गर्दै योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख ६० हजार ८ सय कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। कम्पनीले सुरुवाती रूपमा ५० रुपैयाँ अंकित मूल्य प्रस्ताव गरे पनि अन्तिम रूपमा १०० रुपैयाँ नै कायम हुने सम्भावना रहेको छ।
त्यस्तै, नेपाल चिया विकास निगमले २०८३ वैशाख ८ गते नेप्सेसँग सम्झौता गर्दै २ लाख ४० हजार कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्ने तयारी गरेको छ।
दुवै कम्पनीले बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार योग्य संस्थागत लगानीकर्ताबाट शिलबन्दी बोलपत्रमार्फत मूल्य निर्धारण प्रक्रिया अघि बढाउन सम्झौता गरेका हुन्।
यसअघि नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेडले पनि नेप्सेसँग यस्तै सम्झौता गरिसकेका छन्।
यीमध्ये नर्भिक र जगदम्बा स्पिनिङ्ग मिल्सले चैत २२ गते, टाइम फर्मास्युटिकल्सले चैत २४ गते तथा लक्ष्मी स्टील्स र पूर्वाञ्चल ल्युव आयलले वैशाख ३ गते सम्झौता गरेका हुन्।
बुक बिल्डिङ विधिमार्फत आईपीओ ल्याउने क्रम बढ्दै जाँदा नेपाली पूँजी बजारमा संस्थागत लगानीकर्ताको सहभागिता थप मजबुत हुने अपेक्षा गरिएको छ।

Comment