काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले १६० दिनका लागि उक्त रकम तान्न लागेको हो । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको छ। बैंक तथा वित्तीय संस्थाहरू करिब ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन तयार देखिएका छन् ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न तथा ब्याजदर सन्तुलनमा राख्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् ।
दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाहरूले प्रस्ताव गरेका ब्याजदरका आधारमा सबैभन्दा कम दर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ ।
निक्षेप अधिक भएपछि आज अनलाइन प्रणालीमार्फत बोलकबोल आह्वान गरिएको छ र ब्याजदर पनि बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ। बोलकबोलमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी रकम प्रस्ताव गर्न सकिनेछ ।
यो १६० दिने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी असोज २१ गते गरिनेछ ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गरी बजार ब्याजदर सन्तुलनमा राख्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनै पनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिनासम्मको निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार राष्ट्र बैंकले पटक–पटक यस्तो उपकरण प्रयोग गर्दै आएको छ ।

Comment