काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ।
आज नेप्से १७.९१ अंकले घट्दै २८०७.३१ विन्दुमा अडिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६३ प्रतिशतले कम हो।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ३.०७ अंकले घटेर ४७०.६३ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६५ प्रतिशतले कम हो। यस्तै फ्लोट इन्डेक्स ०.५८ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६३ प्रतिशतले घटेको छ।
सेयरबजारमा मंगलबार ३४७ कम्पनीको ९५ हजार ८०० पटकको कारोबारमा एक करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँको कारोबार भयो। सोमबार भने पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज ४८ कम्पनीको सेयरमूल्य बढ्यो। २१५ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा ६ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहका कारोबार भएकामा होटेल तथा पर्यटन समूहको सूचक १.१६ प्रतिशतले बढ्नुबाहेक सबै समूह राताम्मे बने। होटेल तथा पर्यटन समूहको सूचक हिजो (सोमबार) पनि १.०१ प्रतिशतले बढेको थियो।
जसअनुसार जसअनुसार मंगलबार वाणिज्य बैंक समूहको सूचक ०.४५‚ विकास बैंक ०.००‚ फाइनान्स १.०९ प्रतिशतले घटे। होटेल तथा पर्यटन समूहको सूचक १.१६ प्रतिशतले बढ्यो। यस्तै जलविद्युत् १.२३‚ लगानी समूह ०.६०‚ जीवन बिमा ०.२३ प्रतिशतले घट्यो।
यसैगरी उत्पादन तथा प्रशोधन ०.५३‚ लघुवित्त ०.४९‚ म्युचुअल फन्ड ०.४५‚ निर्जीवन बिमा ०.८६‚ अन्य १.२७ र व्यापार समूहको उपसूचक ०.९६ प्रतिशतले ओरालो लागे।
नेप्सेमा मंगलबार सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। अर्थात सूर्यकुण्ड र पाल्पा सिमेन्टका लगानीकर्ताले सेयरमूल्यमा १५ प्रतिशतले आम्दानी गरे। यसैगरी दोल्ती पावर कम्पनी लिमिटेडको सेयरमूल्य ८.७१ प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रह्यो। आज सोलु हाइड्रोपावरको ३७ करोड सात लाख ३५ हजार ९२१ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो। नेसनलको सेयर मंगलबार सात लाख ७७ हजार ३७३ कित्ता किनबेच भयो। नेसनलको सोमबार भने नौ लाख ३८ हजार १२७ कित्ता किनबेच भएको थियो। यसको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता २९८ रुपैयाँ कायम रह्यो।

Comment