काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन्।
सिंहदरबारमा सोमबार भएको छलफलमा ११ विश्वविद्यालय र सातवटा प्रतिष्ठानका उपकुलपति सहभागी थिए। कुलपति प्रधानमन्त्री आफैँ रहने प्रावधान छ।
बैठकमा विश्व विद्यालयतर्फ त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू सहभागी थिए।
यस्तै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू सहभागी थिए। बैठकमा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहभागी थिए ।
बैठकमा विश्वविद्यालय र प्रतिष्ठानहरूका समसामयिक समस्या र समाधानका उपायबारे छलफल भएको थियो। यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Comment