काठमाडौँ। सरकार बनेको १७ दिनपछि प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मन्त्रीहरूले आफ्नो सम्पत्तिमा करोडौँ मौजदात, घरजग्गा, सेयरमा लगानी देखाएका छन्।
कतिपय मन्त्रीले बाख्रा, कुखुरा र कुकुर समेत आफ्नो सम्पत्तिका रूपमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँग सबैभन्दा बढी नगद मौज्दात र सुन रहेको पाइएको छ। घरजग्गा बढी अर्थमन्त्री स्वर्णिम वाग्लेको देखिएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुधन गुरुङ र उद्योगमन्त्री गौरीकुमारी यादवसँग पनि उत्तिकै बढी सम्पत्ति देखिएको छ।
गृहमन्त्री सुधन गुरुङको सेयर बजारमा पौने ३ करोड रूपैयाँ रहेको देखिएको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनले व्यवसाय र पैत्रिक सम्पत्तिबाट उक्त सेयरमा लगानी गरेको उल्लेख छ ।
गुरुङको सबैभन्दा बढी लगानी धितोपत्र बजारमा कारोबार हुने सेयरहरूमा भएको उनले पेश गरेको सम्पत्ति विवरणमा उल्लेख छ । व्यावसायिक र पैत्रिक सम्पत्ति स्रोत देखाउँदै उनले उल्लेख गरेको विवरण अनुसार धितोपत्र बजारमा कारोबार हुने सेयरहरूमा २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ ।
त्यसबाहेक जसमा होप होल्डिङ्स प्रालिमा उनको ३० हजार थान साधारण सेयर रहेको उल्लेख छ । उक्त सेयरको मूल्य ३० लाख रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण सेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । जसको मूल्य ५७ लाख रहेको उल्लेख छ ।
एड्भेन्चर भिल्ला प्रालिमा पनि उनले आफ्नो सेयर रहेको उल्लेख गरेका छन् । जहाँ ७० हजार थान सेयर रहेको र त्यसको मूल्य ७० लाख हुन आउने उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उनले साढे ६१ लाख बैंक ब्यालेन्स देखाएका छन । उनको बैंकमा भएको रकममा लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार र नबिल बैंकमा ५६ लाख २५ हजार रुपैयाँ रहेको देखाएका छन् ।
अर्थमन्त्री तथा तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा। स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको विवरण अनुसार वाग्लेसँग काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा घरजग्गा, बहुमूल्य सुन, विभिन्न बैंकमा मौज्दात र जलविद्युत कम्पनीहरूमा ठूलो लगानी रहेको देखिएको छ ।
डा. वाग्लेको नाममा ललितपुरमा दुईवटा अपार्टमेन्ट र धुलिखेलमा एउटा घर रहेको छ । ललितपुरको अपार्टमेन्टको खरिद मूल्य २ करोड र अर्कोको ५ करोड रुपैयाँ उल्लेख गरिएको छ । त्यस्तै, धुलिखेलमा ३ करोड ७५ लाख मूल्यको घर रहेको छ भने तनहुँको बन्दीपुरमा २ करोडको घर रहेको देखाइएको छ । यी सम्पत्तिहरूको स्रोतमा अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री र बैंक ऋण उल्लेख गरिएको छ ।
जग्गा तर्फ काठमाडौँको चन्द्रागिरिमा २० लाख मूल्यमा खरिद गरेको ३ रोपनी, चितवनको रत्ननगरमा ८० लाख मूल्यको ५ कठ्ठा र तनहुँको भानुमा ८ लाख ५० हजार मूल्यको ६ रोपनी जग्गा रहेको छ । गोरखामा पनि उनको पैतृक र खरिद गरिएको गरी विभिन्न कित्ता जग्गाहरू रहेका छन् ।
वाग्लेको जलविद्युत क्षेत्रमा उल्लेख्य लगानी देखिएको छ । उनले अपर मादी हाइड्रोमा ३ करोड, ठूलो खोलामा ६० लाख र नेसनल फण्ड म्यानेजमेन्टमा करिब ९० लाख रुपैयाँ लगानी गरेका छन् । त्यस्तै सानिमा मिडिल तमोर हाइड्रोमा ७१ हजार ९३ कित्ता र सांग्रिला विकास बैंकमा २५ हजार ७ सय बढी कित्ता सेयर रहेको छ ।

Comment