काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अबदेखि शुक्रबार पनि शेयर बजार सञ्चालन गर्ने भएको छ । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले आफ्नै कारोबार तालिका परिमार्जन गरेको हो।
आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबार सबै सरकारी कार्यालय बन्द रहने भएपछि नेप्सेले लगानीकर्ता हित र बजारको निरन्तरता कायम राख्न नयाँ कार्यतालिका लागू गर्ने जनाएको छ। नेप्से सञ्चालक समितिको बैठकले सातामा पाँच दिन कारोबार सुनिश्चित गर्न शुक्रबार बजार खोल्ने निर्णय गरेको हो।
अबदेखि आइतबार बजार बन्द रहनेछ भने शुक्रबार नियमित रूपमा कारोबार सञ्चालन हुनेछ।
यसअघि पनि सरकारले २०७९ मा शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेपछि नेप्सेले अस्थायी रूपमा शुक्रबार कारोबार चलाएको थियो। पछि आइतबारको बिदा हटेसँगै नेप्से पुरानै तालिकामा फर्किएको थियो।
नयाँ व्यवस्थाबमोजिम अब शेयर बजार शनिबार र आइतबार बन्द रहनेछ र सोमबारदेखि शुक्रबारसम्म पाँच दिन कारोबार सञ्चालन हुनेछ।

Comment