काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा तीव्र गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५.५० अंकले अर्थात् ३.७९ प्रतिशतले घट्दै २६७६.६८ बिन्दुमा ओर्लिएको हो ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ५.८२ अंकले उक्लिएको थियो । त्यसअघि बुधबार ७४.७३ अंकले घटेको नेप्से मंगलबार भने १९.७० अंकले बढेको थियो । यस्तै, गत साताको सोमबार नेप्से ४७.७१ अंकले ओरालिएको थियो भने आइतबार ७१.०५ अंकले झरेको थियो ।
आइतबार सेयर बजारमा कुल १२ अर्ब ३८ करोड रुपैयाँभन्दा माथिको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । गत बिहीबार भने ८ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आइतबारकाे बजारमा ७ कम्पनीका सेयरमा नकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि–इन्स्योरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट, गार्डिय माइक्रो लाइफ, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जीका सेयर मूल्य सर्किट लेभलसम्म घटेका हुन् ।
त्यस्तै, अन्य १० कम्पनीका सेयर मूल्य पनि नौ प्रतिशतभन्दा बढीले घटेका छन् ।
यद्यपि, बजारमा व्यापक गिरावटदेखिए पनि केही कम्पनीले सकारात्मक संकेत देखाएका छन् । आइतबार रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका सेयरमा भने सकारात्मक सर्किट लागेको छ ।

Comment