अब निजी क्षेत्रले घुस खुवाउन र थुनिनु पर्दैन, हामी सहयात्री बनेर काम गर्छौं: अर्थमन्त्री डा. वाग्ले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले काम गराउनका लागि घुस खुवाउनु पर्ने र प्रशासनिक झन्झटका लागि लाइन लाग्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँगको भेटघाटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले आफू अर्थतन्त्रको जहाजलाई सही दिशामा मोडेर देशलाई नयाँ गति दिन आएको बताए । उनले भने, ‘म घुस खान आएको होइन र कसैलाई खान पनि दिन्न । निजी क्षेत्रले अब दुःख पाउने दिन सकिए, हामी तपाईँहरूको सहयात्री भएर काम गर्न चाहन्छौं ।’

अर्थमन्त्रीले उद्योगी व्यवसायीहरूलाई ढुक्क भएर लगानी बढाउन र रोजगारीका अवसरहरू सिर्जना गर्न आग्रह गर्दै देश निर्माणमा जुट्न आह्वान गरे । निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले नीतिगत सुधार गर्ने संकेत गर्दै उनले अब आर्थिक बेइमानीका मुद्दामा व्यवसायीलाई थुन्ने नभई आर्थिक जरिवाना गर्नेतर्फ सरकार अघि बढ्ने बताए ।

‘आर्थिक बेइमानीमा हामी अब आर्थिक जरिवानाको बाटो अपनाउँछौं, सानातिना कुरामा उद्योगी व्यवसायी थुनिनु पर्दैन,’ डा. वाग्लेले स्पष्ट पारे । यद्यपि, राज्यले उदारता देखाउँदा निजी क्षेत्रबाट पनि इमानदारिताको अपेक्षा गरिएको उनले बताए । ‘राज्य सहयात्री बन्दा निजी क्षेत्रले पनि बेइमानी गर्दैन भन्ने हाम्रो विश्वास छ, तर कसैले नियतवश बेइमानी गर्छ भने त्यस्ताका विरुद्ध हामी निर्मम रूपमा प्रस्तुत हुनेछौं,’ उनले चेतावनी दिए ।

निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थमन्त्रीको यस कदमको स्वागत गर्दै लगानीमैत्री वातावरण बनेमा देशको अर्थतन्त्रले चाँडै काँचुली फेर्ने विश्वास व्यक्त गरे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।