शपथ लिएको दिनदेखि नै दुई तिहाइ सरकारको दिनगन्ती सुरु भयो : महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले दुई–तिहाइ बहुमत प्राप्त वर्तमान सरकारको ‘दिनगन्ती सुरु भइसकेको’ चेतावनी दिएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति जारी गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले दमन गरेको आरोप लगाए।

बस्नेतका अनुसार अध्यक्ष ओलीको गिरफ्तारी ‘पूर्वाग्रह र प्रतिशोध’ का आधारमा गरिएको हो। उनले लेखेका छन्, “पूर्वाग्रह र प्रतिशोधको मूल्य अत्यन्तै महँगो पर्छ। अध्यक्ष ओलीलाई अविलम्ब रिहा गर, बालेन सरकार र गृहमन्त्री सुधन गुरुङ। दुई–तिहाइको सरकारले शपथ लिएको दिनदेखि नै तिमीहरूको दिनगन्ती सुरु भइसकेको छ।”

सरकारको निर्णयले देशलाई अशान्ति र विभाजनतर्फ धकेल्न खोजिएको भन्दै बस्नेतले नेपालको वर्तमान परिस्थितिलाई पाकिस्तान, बंगलादेश वा युक्रेनको मोडेलसँग तुलना गरेका छन्।

उनले अघिल्लो वर्ष सिंहदरबार, सर्वोच्च अदालतलगायतका संरचनामा तोडफोड तथा आगजनी गर्ने समूहहरूलाई संरक्षण दिँदै आएको आरोप लगाउँदै भने, “ती अराजक समूहलाई दमन भयो भन्नेहरू अहिलेको शान्तिपूर्ण आन्दोलनमा किन दमन गरिरहेका छन् ?”

बस्नेतले आन्दोलनका क्रममा घाइते कार्यकर्ताको उपचारको व्यवस्था गर्न, पक्राउ परेकाहरूलाई अविलम्ब रिहा गर्न तथा तोडफोड भएका सवारीसाधनका क्षतिपूर्तिबारे छलफल गर्न सरकारलाई आग्रह गरेका छन्। “दुई–तिहाइको दम्भ बन्द गर। घाइतेको तुरुन्त उपचार गर, गिरफ्तार भएकालाई रिहा गर। यही अवस्था रहिरहे भोलिको आन्दोलन अझ सशक्त हुनेछ,” उनले चेतावनी दिएका छन्।

उनका अनुसार भोलि दिउँसो १२ बजे देशका सबै जिल्ला सदरमुकामहरूमा एमालेले प्रदर्शन गर्नेछ। त्यस्तै, आजको प्रहरीले गरेको दमनको विरोधमा भोलि पनि माइतीघर मण्डलामा जनसंगठनहरूको आन्दोलन जारी रहने उनले जानकारी दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।