काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। सशस्त्र प्रहरीको सहयोगमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट बिहान ५:४० बजे नियन्त्रणमा लिएको हो। अधिकारीहरूका अनुसार उनलाई जरुरी पक्राउ पुर्जी जारी गरी पक्राउ गरिएको हो।
भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएपछि लेखक त्यसै साँझ गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वमन्त्री लेखकलगायत केन्द्रीय सुरक्षा समितिका पदाधिकारीविरुद्ध फौजदारी मुद्दा दर्ता गरी अनुसन्धान गर्न सिफारिस गरेको थियो।
शुक्रबार बसेको बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको सिफारिस कार्यान्वयन गर्दै सम्बद्ध व्यक्तिहरूलाई पक्राउ गर्ने निर्णय गरेको थियो। त्यसपछि गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँग पक्राउ प्रक्रियाबारे समन्वय गरेका थिए।
प्रहरीका अनुसार लेखकलाई भक्तपुर सूर्यविनायक–५, कटुञ्जे मनोरम टोलस्थित निवासबाट पक्राउ गरी काठमाडौँ ल्याइँदै छ।

Comment