काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको आगामी कार्यकालका लागि वर्तमान उपाध्यक्ष दुर्गाराज श्रेष्ठले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
बागमती प्रदेश महासंघलाई भौतिक संरचनाले सम्पन्न बनाउने र जिल्ला नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरूको क्षमता विकासमा केन्द्रित हुने मुख्य संकल्पसहित श्रेष्ठले चुनावी मैदानमा उत्रिने निर्णय गरेका हुन् ।
उनले विशेषगरी साना तथा मझौला उद्यमलाई लक्षित गरी प्रदेशको आर्थिक र औद्योगिक नीति निर्माणमा विशेष पहल गर्ने र व्यवसायीका समस्यालाई नीतिगत तहमा सम्बोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उम्मेदवारी घोषणाका क्रममा श्रेष्ठले बागमती प्रदेशका सबै भूगोलका उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसियट सदस्यहरूलाई स्थानीय तथा प्रदेश सरकारसँग जोड्दै कर प्रणाली, लेखा प्रणाली र नापतौलका क्षेत्रमा रहेका व्यावहारिक कठिनाइहरू हटाउन आफू सक्रिय रहने बताएका छन् ।
व्यवसायीहरूले बजार अनुगमनका नाममा भोग्दै आएको अनावश्यक दुःख र हैरानीलाई सधैँका लागि अन्त्य गर्न बजार अनुगमनको स्पष्ट मापदण्ड बनाउनुपर्ने श्रेष्ठको योजना छ । यसका लागि सम्बन्धित उद्योग वाणिज्य संघहरूसँग स्थानीय प्रशासनले अनिवार्य सहकार्य गर्नुपर्ने नीतिगत प्रबन्ध मिलाउन आफूले विशेष पहल गर्ने उनले उल्लेख गरे ।
व्यावसायिक यात्राको लामो अनुभव बोकेका श्रेष्ठ २०६२ सालदेखि यो क्षेत्रमा सक्रिय छन् । उनी नेपाल वितरक संघको कार्यसमिति सदस्य हुँदै २०७४ देखि २०७६ सम्म उक्त संघको अध्यक्षका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरिसकेका व्यक्तित्व हुन् ।
उद्योग वाणिज्य संघ काठमाडौँको संस्थापक सदस्य तथा हाल महासचिवको जिम्मेवारीमा रहेका श्रेष्ठले अन्तर्राष्ट्रिय रूपमा समेत नेपालको औद्योगिक र व्यावसायिक क्षेत्रको प्रतिनिधित्व गर्दै ‘नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’को कार्यकारी सदस्यका रूपमा काम गरिरहेका छन् ।
पोखरा विश्वविद्यालयबाट एमबीए उत्तीर्ण गरेका श्रेष्ठले प्रदेश सरकारसँग उद्योगी व्यवसायीका समस्या र मागका विषयमा ‘स्ट्रङ लविङ’ गर्ने र समस्या समाधानका लागि निरन्तर खटिने दृढता व्यक्त गरेका छन् ।
वर्तमान कार्यसमितिमा उपाध्यक्षको भूमिकामा रहेर महासंघको आन्तरिक र बाह्य गतिविधिहरूलाई नजिकबाट बुझेकाले आफूले नेतृत्व सम्हालेपछि बागमती प्रदेशको व्यावसायिक वातावरणलाई थप सुदृढ र पारदर्शी बनाउने उनको दाबी छ । सबै जिल्ला नगर र वस्तुगत संघहरूको भावनालाई समेटेर अघि बढ्ने बताउँदै श्रेष्ठले आफ्नो उम्मेदवारीले प्रदेशभरका व्यवसायीमा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।

Comment