काठमाडौं। नेपाल राष्ट्र बैंक का अनुसार वाणिज्य बैंकहरूले पर्यटन क्षेत्रमा गर्ने लगानी चालु आर्थिक वर्षमा बढेको छ। गत आर्थिक वर्षको तुलनामा चालु आवमा पर्यटन सेवा कर्जा ४.१२ प्रतिशतले वृद्धि भएको हो।
केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको माघसम्म पर्यटन क्षेत्रमा बैंकहरूको लगानी २ खर्ब २५ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो लगानी २ खर्ब १६ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कुल कर्जाको कम्तीमा २० प्रतिशत पर्यटन, लघु तथा मझौला उद्योग, ऊर्जा, सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योग तथा स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात उद्योगमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। यस नीतिका कारण पनि पर्यटन क्षेत्रमा लगानी बढेको अनुमान गरिएको छ।
पर्यटन क्षेत्रमा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंकको रूपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अग्रस्थानमा देखिएको छ। माघसम्म उक्त बैंकले २३ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
पर्यटन उद्योग कोभिड–१९ पछिको पुनरुत्थान चरणमा रहेकाले होटल, ट्राभल र एड्भेन्चर क्षेत्रमा लगानी बढ्दै गएको देखिन्छ। बैंकहरूको बढ्दो लगानीले पर्यटन क्षेत्र थप चलायमान हुने अपेक्षा गरिएको छ।

Comment